काठमाडौं : नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो ।
नेपाल जीवनस्तर सर्वेक्षण २०७८/७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ ।
यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत रहेको छ, जसमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकहरू समेटिएका छन् । आर्थिक स्थिति पत्रमा उल्लेख छ,‘ग्रामीण क्षेत्रमा बहुआयामिक गरिबी अझ बढी देखिएको छ, जसले आधारभूत सेवामा असमान पहुँच रहेको देखाउँछ ।’
बेरोजगारीतर्फ हेर्दा नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । महिलामा बेरोजगारी दर १२.३ प्रतिशत रहेको छ भने पुरुषमा ९.१ प्रतिशत मात्रै रहेको छ । १५-२४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १८.९ प्रतिशत रहेको छ, जसले युवा वर्गमा रोजगारीको अभाव गम्भीर समस्याका रूपमा रहेको देखाउँछ ।
लैङ्गिक समानताको क्षेत्रमा पनि प्रगति भए पनि असमानता अझै देखिन्छ । मानव विकास प्रतिवेदन २०२३÷२४ अनुसार लैङ्गिक असमानता सूचकांक ०.४७८ रहेको छ । महिलाको श्रमशक्ति सहभागिता दर २६.४ प्रतिशत मात्र रहेको छ भने पुरुषको ७६.२ प्रतिशत रहेको छ । साथै, महिलाको औसत आम्दानी पनि पुरुषको तुलनामा कम रहेको देखिएको छ ।
विशेषज्ञहरूका अनुसार गरिबी घट्दै जानु सकारात्मक संकेत भए पनि ग्रामीण विकास, रोजगारी सिर्जना र लैङ्गिक समानता प्रवद्र्धनमा थप प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।
Advertisment