Below Menu
Below Menu

बढ्दो लागत र ऋणको दबाबमा ‘होटल बुद्ध स्टार’: लागत दुई अर्ब नाघ्यो, स्रोत जुटाउनै मुस्किल

बढ्दो लागत र ऋणको दबाबमा ‘होटल बुद्ध स्टार’: लागत दुई अर्ब नाघ्यो, स्रोत जुटाउनै मुस्किल

काठमाडौं : भैरहवामा निर्माणाधीन पाँचतारे होटल ‘होटल बुद्ध स्टार’ परियोजना वित्तीय दबाबमा परेको छ। परियोजनाको लागत निरन्तर बढ्दै जाँदा, स्रोत व्यवस्थापन र ऋण भुक्तानीमा समस्या देखिएको हो । 

पछिल्लो मूल्यांकनअनुसार परियोजनाको कुल लागत करिब २ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो अनुमानभन्दा करिब ९ प्रतिशतले बढी हो। १२० कोठा क्षमताको प्रस्तावित होटलको प्रति कोठा लागत झण्डै १ करोड ७० लाख रुपैयाँ बराबर पर्न गएको छ । 

स्वदेशी लगानीमा निर्माणाधिन परियोजनाको कुल लागतको ६० प्रतिशत ऋण र ४० प्रतिशत इक्विटीमार्फत जुटाउने योजना बनाइएको थियो। तर व्यवहारमा भने आवश्यक पूँजीको ठूलो हिस्सा अझै सुनिश्चित हुन सकेको छैन। 

कम्पनीले प्रतिबद्ध गरेको इक्विटीमध्ये करिब ४४ प्रतिशत लगानी अझै हालिएको छैन भने आवश्यक ऋणमध्ये करिब ४८ प्रतिशत रकमको स्रोत पनि पक्का भइसकेको छैन। निर्माण कार्य अगाडि बढिरहेको भए पनि पर्याप्त स्रोत नजुट्दा परियोजनामा चुनौति थपिएको हो । 

यसैबीच, सञ्चालक कम्पनी होटल बुद्ध स्टार प्रालिको कर्जा मूल्यांकनमा ठूलो गिरावट आएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङलाई बी माइनसबाट घटाएर डी मा झारेको छ भने अल्पकालीन कर्जाको रेटिङ ए बाट सिधै डी मा डाउनग्रेड गरेको छ। 

कुल ६६ करोड रुपैयाँको मूल्याङ्कित कर्जा सीमामध्ये ६५ करोड रुपैयाँ दीर्घकालीन र १ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। रेटिङ एजेन्सीले समयमै ऋण दायित्व पूरा गर्न नसकेको भन्दै रेटिङ घटाईएको जनाएको छ।

विशेषगरी २०८२ माघ मध्यसम्मको त्रैमासिक अवधिमा कम्पनीले ३० दिनभन्दा बढी ढिलाइ गरेर कर्जा किस्ता तिरेको रिपोर्टमा उल्लेख छ । इक्रा नेपालको डिफल्ट रिकग्निसन नीतिअनुसार यस्तो ढिलाइलाई गम्भीर वित्तीय जोखिमको संकेतका रूपमा लिइन्छ।

रेटिङ सुधारका लागि कम्पनीले हालको ढिलाइ नियमित गरी त्यसपछि कम्तीमा ९० दिनसम्म कुनै पनि प्रकारको भुक्तानी ढिलाइ नगरेको प्रमाणित गर्नुपर्नेछ। त्यसपछि मात्रै पुनः मूल्यांकनको सम्भावना रहने उल्लेख गरिएको छ।

परियोजनाको वित्तीय प्रगति हालसम्म ४६ प्रतिशत पुगेको छ। तर ऋणको साँवा भुक्तानी भने २०८१ माघदेखि सुरु भइसकेको छ। अर्थात् होटल पूर्ण रूपमा सञ्चालनमा नआउँदै ऋण तिर्नुपर्ने अवस्था आएको छ। यसले नगद प्रवाहमा थप दबाब सिर्जना गरेको छ। 

ब्याज भुक्तानी सन् २०२२ जुलाईदेखि नै सुरु भएको थियो। परियोजना आधाभन्दा कम मात्र सम्पन्न भएको अवस्थामा यस्तो भुक्तानी चापले वित्तीय व्यवस्थापन कमजोर भएको हो । 

होटल भैरहवाको सिद्धार्थनगर–९ मा निर्माण भइरहेको छ भने सन् २०२७ अक्टोबरदेखि सञ्चालनमा ल्याउने जनाइएको छ। यद्यपि परियोजनाको वर्तमान अवस्था हेर्दा तोकिएको समयसीमा चुनौतीपूर्ण बन्ने देखिएको छ। 

होटल बुद्ध स्टार प्रालि सन् २०१८ नोभेम्बरमा स्थापना भएको कम्पनी हो। यो परियोजना व्यवसायी राज कुमार पोखरेल र उनको परिवारको पहिलो होटल उद्यम हो। 
 

Advertisment

थप समाचार