Below Menu
Below Menu

आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सले गर्यो ५० करोडको व्यापार, नाफा मार्जिन ५९ प्रतिशत

आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सले गर्यो ५० करोडको व्यापार, नाफा मार्जिन ५९ प्रतिशत

काठमाडौं : हालै सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको सोपान फर्मास्युटिकल्स लिमिटेडले एकै वर्षमा ५० करोड माथिको व्यापार गरेको छ । 

कम्पनीले सन् २०२५ मा ५० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २२९.६०० प्रतिशतले बढेको हो । सन् २०२४ मा कम्पनीले १५ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

यसअघि सन् २०२३ मा कम्पनीले १४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले व्यवस्थापनले अपनाएको ‘पुस सेल्स मोडल’का कारण व्यापार बढेको जनाइएको छ । यस मोडलमार्फत डिलर तथा वितरकहरुलाई प्रोत्साहन प्रदान गर्दै उत्पादनको उपलब्धता र बजार पहुँच बढाइएको थियो । परिणाम स्वरुप बिक्री मात्र नभई बजार विस्तारको गति पनि तीव्र बनेको कम्पनीको दाबी छ । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२३ र २०२४ मा नकारात्मक रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ५९.३२ प्रतिशत कायम भएको छ । कम्पनीले अक्सिजन व्यवसायबाट औषधि तर्फ ध्यान केन्द्रीत गर्दा नाफा मार्जिन बढेको उल्लेख छ । 

सन् २०२५ मा प्रवद्र्धकहरुबाट २९ करोड ७० लाख रुपैयाँ अतिरिक्त पुँजी लगानी हुँदा कम्पनीको कुल ऋण इक्विटी अनुपात पनि १.४१ गुणाबाट घटेर ०.४६ गुणामा झरेको छ । अघिल्ला दुई वर्ष नकारात्मक रहेको कम्पनीको ब्याज तिर्ने क्षमता ५.२२ गुणा पुगेको छ । 

सन् २००९ मा स्थापना भएको सोपान फर्मास्युटिकल्स लिमिटेड नेपालमा जेनेरिक र सेफालोस्पोरिन औषधि उत्पादन गर्ने उद्योगमा रुपमा परिचित छ । कम्पनीका अध्यक्ष डा.अनिल पोखरेल रहेका छन् । 

कम्पनीको उत्पादन कारखाना ललितपुरको महालक्ष्मी नगरपालिका–८, विष्णुडोलमा रहेको छ भने कर्पोरेट कार्यालय काठमाडौंको तिनकुने–३२ मा रहेको छ । कम्पनीसँग हाल १३९ प्रकारका औषधि उत्पादन गर्ने र ७० प्रकारका औषधि बिक्री वितरण गर्ने अनुमति छ । कम्पनीले ट्याबलेट, क्याप्सुल, झोल औषधि, क्रिम र मलम जस्ता एलोप्थाथिक औषधि उत्पादन गर्दै आएको छ । 

कम्पनीले मेडिकल अक्सिजन तथा नाइट्रोजन ग्याँस उत्पादन तथा बिक्री वितरणको क्षेत्रमा पनि लगानी गरेको थियो । यस प्रयोजनका लागि २०७३ सालमा सम्बन्धित निकायहरूबाट व्यवसाय दर्ता र उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरिएको थियो । 

हाल उक्त व्यवसाय कम्पनीको सहायक संस्था सोपान अक्सिजन लिमिटेडका नाममा उद्योग विभागमा दर्ता भइसकेको छ । उद्योगको प्रारम्भिक वातावरणीय परीक्षणका लागि २०८२ पुस ९ गते सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको छ र प्रतिवेदन प्राप्त गर्ने प्रक्रिया अघि बढिरहेको छ । 

एलोपेथिक औषधि उत्पादनका लागि कम्पनीले २०७३ चैत ३ गते महालक्ष्मी नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो भने २०७४ वैशाख १२ गते उद्योग विभागबाट उद्योग दर्ता नं. ३७३१ अन्तर्गत ठूला उत्पादनमूलक उद्योगका रूपमा दर्ता भएको थियो ।

यही बैशाख ३ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

आईपीओबाट प्राप्त पूँजीमध्ये २० करोड रुपैयाँ बैंक ऋण भुक्तानीमा, ७ करोड ५० लाख रुपैयाँ सहायक कम्पनीमा लगानी, ३ करोड ६५ लाख रुपैयाँ उद्योगमा भौतिक निर्माण, ३ करोड रुपैयाँ प्लान्ट, मेसिनरी तथा उपकरण खरिद, ३ करोड ७५ लाख रुपैयाँ नयाँ उत्पादन विकास तथा बजार विस्तार, र बाँकी ५ करोड रुपैयाँ कार्यशील पूँजीका रूपमा उपयोग गरिनेछ ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ६९ करोड ९६ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ४६ करोड ४८ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि २३ करोड ४७ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो ।


 

Advertisment

थप समाचार