काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला सबै व्यवसायीलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय उद्यमशीलता र आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गरेको ढकालको भनाई छ । कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ ।’
सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरेकोमा आभार व्यक्त गर्दै यसले व्यवसायीलाई भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरिएको छ । नीतिगत सुधारका लागि सरकारले दोस्रो चरणको आर्थिक सुधार प्रक्रिया सुरु गर्नु र केही पुराना कानुन खारेजीको निर्णय गर्नुलाई महासंघले सकारात्मक कदम मानेको छ ।
दोस्रो चरणको आर्थिक सुधारका लागि महासंघकै पहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई कार्य अघि बढेको छ । बागलुङको ढोरपाटन बैठकबाट मार्गचित्र तयार पारिएको यो सुधार प्रक्रियाले कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन र प्रविधिको उच्चतम प्रयोगमा जोड दिएको छ । ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ मार्फत कानुनको संशोधन र परिमार्जन गर्दै ऊर्जा, कृषि, खनिज र पर्यटन क्षेत्रको भरपूर सदुपयोग गर्ने लक्ष्य महासंघले राखेको छ ।
स्वदेशी पुँजी परिचालन गर्न महासंघको अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई कार्य सुरु भइसकेको छ। यसले ४० देखि ५० अर्बसम्मका ठूला आयोजना सञ्चालन गर्न सक्ने र ’नेपालमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्ने विश्वास लिइएको छ । साथै, वैदेशिक लगानी आकर्षित गर्न विभिन्न मुलुकमा बिजनेस समिटहरू आयोजना गरी सुशासन र प्रविधिको प्रयोगमार्फत लगानीकर्ताको विश्वास जित्ने प्रयास भइरहेको छ ।
मुलुकमा रोजगारीको समस्या गम्भीर रहेको उल्लेख गर्दै महासंघले वार्षिक ७ लाख युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यतालाई चिर्नुपर्ने बताएको छ । निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको भए पनि प्रत्येक वर्ष श्रम बजारमा आउने ५ लाख नयाँ शक्तिलाई खपत गर्न अझै ठूलो लगानी र सुरक्षित वातावरण आवश्यक छ । छिमेकी मुलुकहरूको आर्थिक प्रगतिलाई उदाहरण मान्दै नेपालमा पनि उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ ।
महासंघले प्रतिकूलतामा पनि अनुकूलता खोज्दै निराशालाई आशामा बदल्ने संकल्प गरेको छ । आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउन आग्रह गर्दै ’निजी क्षेत्रको सम्मान समृद्धिको आधार’ भन्ने नारालाई सार्थक बनाउन सबै सरोकारवालालाई आह्वान गरिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्र सरकारसँग काँधमा काँध मिलाएर हिँड्न तयार रहेको सन्देश प्रवाह गरिएको छ ।
Advertisment