Below Menu
Below Menu

नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै, साढे दुई अर्बको लगानी 

नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै, साढे दुई अर्बको लगानी 

काठमाडौं : नेपालमा पहिलो पटक टियर–४ हाइपरस्केल डेटा सेन्टर निर्माण हुने भएको छ । नेपाली निजी कम्पनी बिचुटेन डाटा भोल्ट प्रालिले बिहीबार पत्रकार सम्मेलनमार्फत ‘बिचुटेन डेटा वर्ल्ड’ नामक अत्याधुनिक परियोजना सार्वजनिक गर्दै नेपालको डिजिटल पूर्वाधारलाई नयाँ स्तरमा पुर्‍याउने घोषणा गरेको हो।

नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता, साइबर सुरक्षा तथा डेटा संरक्षणलाई सुदृढ बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डेटा सेन्टर काठमाडौंको चोभार र वीरगञ्जमा निर्माण भइरहेको छ। चोभारस्थित केन्द्र मुख्य डेटा सेन्टरका रूपमा रहनेछ भने वीरगञ्जलाई ‘डिजास्टर रिकभरी साइट’ का रूपमा विकास गरिनेछ। 

प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ। आयोजनाको प्रारम्भिक लागत साढे २ अर्ब रुपैयाँ रहेको छ । 

यो नेपालकै पहिलो टियर–४ प्रमाणित डेटा सेन्टर हुने दाबी गरिएको छ। यस्तो स्तरको डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने भएकाले वर्षभरि अत्यन्त न्यून प्राविधिक अवरोध मात्र हुने कम्पनीले जनाएको छ। 

उच्चस्तरीय सुरक्षा, ब्याकअप प्रणाली तथा निरन्तर सञ्चालन क्षमताका कारण एआई कार्यभार, क्लाउड सेवा र विशाल डिजिटल डेटा व्यवस्थापनका लागि यो पूर्वाधार महत्त्वपूर्ण बन्ने विश्वास गरिएको छ।

कम्पनीले ‘इन-कन्ट्री डेटा रेसिडेन्सी’ अवधारणालाई प्राथमिकता दिएको छ। यसमार्फत नेपाली डेटा देशभित्रै सुरक्षित राखिने भएकाले विदेशी सर्भरमाथिको निर्भरता घट्ने र राष्ट्रिय साइबर सुरक्षा अझ मजबुत हुने अपेक्षा गरिएको छ।

परियोजनालाई नेपालकै जलविद्युतमा आधारित हरित ऊर्जा प्रयोग गरी सञ्चालन गरिने कम्पनीले जनाएको छ। ऊर्जा दक्ष र वातावरणमैत्री पूर्वाधारका रूपमा विकास गरिने यो परियोजनाले सूचना प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अध्यक्ष नवीन अग्रवालका अनुसार स्वदेशी प्राविधिक जनशक्तिलाई नेपालमै अवसर उपलब्ध गराउँदै दक्ष युवाको विदेश पलायन रोक्न पनि यसले योगदान पुर्‍याउनेछ।

कम्पनीले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल सेवाको विस्तारका लागि गुगल क्लाउड तथा भीभीडीएन टेक्नोलोजी जस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिरहेको जनाएको छ। शिक्षा, स्वास्थ्य, कृषि तथा सरकारी सेवाको डिजिटल रूपान्तरणमा समेत यस परियोजनाले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘बिचुटेन’ नाम जापानी बौद्ध परम्परामा भगवान विष्णुको नामबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। विष्णुलाई सृष्टिको रक्षकका रूपमा मानिने भएकाले नेपालको महत्त्वपूर्ण डिजिटल डेटा सुरक्षित राख्ने उद्देश्यका साथ यो नाम चयन गरिएको अध्यक्ष अग्रवालले बताए।

चोभारस्थित डेटा सेन्टर आगामी जुलाईभित्र सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ। दीर्घकालीन रूपमा नेपाललाई दक्षिण एसियाकै प्रमुख डेटा सेन्टर हब बनाउने र डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने लक्ष्यसहित परियोजना अघि बढाइएको कम्पनीको दाबी छ।

Advertisment

थप समाचार