काठमाडौं : सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट सन्देश दिएको छ ।
खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए ।
नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई ’निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको हो ।
मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हो । सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ । त्यसैले, छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ ।
पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ ।
अल्पकालीन जिम्मेवारी पाउने निमित्त निर्देशक/प्रमुखहरू
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः प्रा.डा.समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः डा नरेन्द्र विक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः सह-प्रा.डा.विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान): सह-प्रा.डा. इन्द्र लिम्बु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ): सह-प्रा.डा.सुरेश रसाइली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) : डा.उमेश नेपाल
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रः सह-प्रा.डा. रविन्द्रभक्त तिमला
स्वास्थ्य बिमा बोर्डः शकुन्तला प्रजापति
Advertisment