Below Menu
Below Menu

श्रम स्वीकृति नलिई विमानस्थल नआउन अध्यागमन विभागको आग्रह

श्रम स्वीकृति नलिई विमानस्थल नआउन अध्यागमन विभागको आग्रह

काठमाडौं : अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई श्रम स्वीकृति प्राप्त गरेपछि मात्र विदेश यात्राको तयारी गर्न आग्रह गरेको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै  श्रमिक भिसामा विदेश जान लागेका केही नेपाली नागरिक श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति नपाइसकेको अवस्थामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेको जनाएको हो।

विभागका अनुसार कतिपय श्रमिकहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन दिएपछि प्रक्रिया पूरा भएको ठानी विमानस्थलमा उपस्थित हुने गरेका छन्। तर, आवेदन दर्ता भएको मात्र आधारमा श्रम स्वीकृति प्राप्त भएको मान्न नमिल्ने र अन्तिम स्वीकृति नआएसम्म विदेश प्रस्थानको अनुमति दिन नसकिने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा श्रम स्वीकृतिको प्रक्रिया अन्य व्यक्ति वा एजेन्सीमार्फत गराउँदा धेरै श्रमिकलाई आफ्नो आवेदनको वास्तविक अवस्था थाहा नहुने समस्या पनि देखिएको उल्लेख छ। यसका कारण श्रम स्वीकृति प्राप्त नभएको अवस्थामा विमानस्थल पुगेका श्रमिकहरू अनावश्यक झन्झट तथा आर्थिक–मानसिक समस्या भोग्न बाध्य हुने गरेका छन्।

अध्यागमन विभागले श्रमिक भिसामा विदेश यात्रा गर्ने सबै नेपाली नागरिकलाई आफ्नो श्रम स्वीकृति जारी भएको यकिन गरेपछि मात्र टिकट काट्न र यात्रा तय गर्न आग्रह गरेको छ।

विभागले आवेदन मात्र दर्ता भएको तर स्वीकृति जारी नभएको अवस्थामा अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति दिन नसकिने भएकाले आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति प्राप्त भएपछि मात्र विमानस्थल आउन अनुरोध गरेको छ।

विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आफ्नो श्रम स्वीकृतिको अवस्था सम्बन्धित निकायबाट समयमै बुझ्न र पूर्ण स्वीकृति प्राप्त भएपछि मात्र विदेश यात्राको तयारी गर्न समेत सुझाव दिएको छ।

Advertisment

थप समाचार