Below Menu
Below Menu

बैंकहरूको नाफामा १८ प्रतिशतको सुधार, दश महिनामा कमाए साढे ५६ अर्ब ! 

बैंकहरूको नाफामा १८ प्रतिशतको सुधार, दश महिनामा कमाए साढे ५६ अर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत वर्षको बैशाख मसान्तसम्म बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा आइपुग्दा १३ बैंकहरुको नाफा बढेको छ भने ७ वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ८३३.१० प्रतिशतले बढेको हो । बैशाख मसान्तसम्म आइपुग्दा प्रभु बैंकको नाफा ४१.७० प्रतिशतले घटेको छ । 

सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक  

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको बैशाख मसान्तसम्म बैंकले सात अर्ब ६६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ३६.८६ प्रतिशतले बढी हो ।

गत वर्ष ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस वर्ष ५ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । जुन ३.०७ प्रतितशले कम हो ।

राष्ट्र बैंकका अनुसार प्राइम कमर्सियल बैंकको नाफा ३१.७४ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ८१.६४ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा बैंकको ४३.६६ प्रतिशत, माछापुच्छ्रेको ४३.२१ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा २६.८८ प्रतिशतले बढेको छ । 

दुई बैंक पुगेनन् अर्ब क्लबमा

चालु आवको दश महिनामा आइपुग्दा दुई बैंकहरुको नाफा भने एक अर्बभन्दा कम रहेको छ । यस अवधिमा एनआईसी एशियाले ३३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ८० करोड २८ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब एक करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.५७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४७ करोड, विकास बैंकहरुको नाफा ६ अर्ब ६२ करोड र फाइनान्सहरुको नाफा ९१ करोड ३० लाख रुपैयाँ रहेको छ ।
 

Advertisment