काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सर्वेक्षणमार्फत देशभरका वित्तीय ग्राहकले प्राप्त गरिरहेका सेवाको गुणस्तर, पहुँच, पारदर्शिता, गुनासो व्यवस्थापन तथा ग्राहक संरक्षणसम्बन्धी अवस्थाबारे विस्तृत जानकारी सङ्कलन गरिने जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षण देशका सबै ७७ जिल्लामा सञ्चालन हुनेछ। प्रत्येक जिल्लामा सबै प्रकारका स्थानीय तहलाई समेट्ने गरी र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरिनेछ। यस प्रक्रियाअन्तर्गत कुल १० हजार ४०५ वटा नमुना सङ्कलन गरिनेछ, जसबाट वित्तीय सेवाको वास्तविक अवस्था र ग्राहकको सन्तुष्टिको स्तरलाई वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्ने लक्ष्य राखिएको छ।
यस सर्वेक्षणमार्फत बैंक तथा वित्तीय संस्थाबाट सेवा लिने ग्राहकको अनुभव, वित्तीय सेवामा पहुँचको सहजता, सेवाको गुणस्तर, शुल्क तथा सेवा प्रवाहमा रहेको पारदर्शिता, गुनासो सुनुवाइ र समाधान प्रणालीको प्रभावकारिता, ग्राहक संरक्षणका अभ्यास तथा समग्र वित्तीय सेवाप्रतिको विश्वास र सन्तुष्टिसम्बन्धी विवरण सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त तथ्याङ्क र निष्कर्षले वित्तीय ग्राहक संरक्षणलाई अझ प्रभावकारी बनाउने, वित्तीय सेवाको गुणस्तर सुधार गर्ने तथा आवश्यक नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा परिमार्जन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। प्राप्त नतिजाले वित्तीय समावेशिताको अवस्था मूल्याङ्कन गर्न तथा भविष्यका नीतिगत निर्णयलाई थप तथ्यमा आधारित बनाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
सर्वेक्षणलाई निष्पक्ष, विश्वसनीय र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षबाट सही, यथार्थ र पूर्ण जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। बैंकका अनुसार सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुनेछ। सहभागीले आफूलाई असहज लागेका कुनै पनि प्रश्नको उत्तर नदिन सक्ने अधिकार रहनेछ।
साथै, सर्वेक्षणका क्रममा सङ्कलित सम्पूर्ण विवरण र व्यक्तिगत जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम पूर्ण रूपमा गोप्य राखिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। उक्त विवरण कुनै पनि व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरिने तथा केवल सामूहिक तथ्याङ्कीय विश्लेषण र नीतिगत प्रयोजनका लागि मात्र उपयोग गरिने जनाइएको छ।
राष्ट्र बैंकले वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय, स्थानीय तह तथा आम सर्वसाधारणलाई सर्वेक्षण कार्य सफल बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ। सर्वेक्षणसम्बन्धी थप जानकारी आवश्यक परेमा राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा सम्पर्क गर्न सकिने जनाएको छ।