पाल्हीनन्दनका अध्यक्ष गुप्ताविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा, परिवारका सदस्य पनि तानिए

पाल्हीनन्दनका अध्यक्ष गुप्ताविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा, परिवारका सदस्य पनि तानिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गुप्ताले सार्वजनिक पदमा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा धेरै सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। 

उनले २०७४ असार २० गते पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिमा तीन करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा वैधानिक आम्दानी गरेको आयोगले जनाएको छ । 

सोही अवधिमा गुप्ताले बैंक मौज्दात, जग्गा खरिद, बैंक ऋणको साँवा तथा ब्याज भुक्तानी, अध्ययन खर्च, घर निर्माण तथा खरिद, शेयर खरिद, बीमा प्रिमियम, कम्पनीमा गरिएको लगानी तथा सवारीसाधन खरिदलगायत शीर्षकमा ६ करोड ९७ लाख १ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।

अनुसन्धानबाट गुप्ताको कुल वैधानिक आम्दानीभन्दा ३ करोड ४५ लाख ४९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च तथा लगानी भएको र उक्त रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगका अनुसार स्रोत नखुलेको यही रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको देखिएको छ।

अख्तियारले गुप्ताले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति आफ्नै नामसँगै एकाघर परिवारका सदस्यहरूको नाममा समेत राखेको जनाएको छ। आयोगका अनुसार उनले कानुनबमोजिम हरेक वर्ष पेस गर्नुपर्ने सम्पत्ति विवरणमा पनि वास्तविक विवरण नदिई सम्पत्ति लुकाईछिपाई झुट्टा विवरण पेस गरेको अनुसन्धानबाट खुलेको छ।

सोही आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गत गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ३ करोड ४५ लाख ४९ हजार १६७ रुपैयाँ ८४ पैसा बिगो कायम गरी सोही बराबर जरिवाना, कैद सजाय तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।

साथै झुट्टा सम्पत्ति विवरण पेस गरेको आरोपमा ऐनको दफा १६ बमोजिम थप कैद, जरिवाना र लुकाइएको सम्पत्ति जफत गर्नसमेत माग गरिएको छ। यस मुद्दामा गुप्तासँगै उनका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई पनि प्रतिवादी बनाइएको छ। 

अख्तियारका अनुसार उनीहरूलाई भ्रष्टाचारको मुख्य कसुरमा नभई, गुप्ताले गैरकानुनी रूपमा आर्जन गरेको भनिएको सम्पत्तिमध्ये उनीहरूको नाममा रहेको सम्पत्ति कानुनबमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको हो।

अख्तियारले उनीहरु विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको गरेको हो । 

थप समाचार