समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा दाहाल नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा दाहाल नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु 

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चार वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललले जानकारी दिए । 

उनका अनुसार सरकारले शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । 

साथै मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली २०८३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले नौ वठा विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । जसमा  निम्न विधेयकहरु रहेका छन् :

- संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,

- खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

- संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

- राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,

- मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

- बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक,

- आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

- मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,

- कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

थप समाचार