Below Menu

टेकुको बन्द फोहोरबाट ऊर्जा परियोजना पुनः सञ्चालन हुने, २ महिनाभित्रै सुरु गरिने

टेकुको बन्द फोहोरबाट ऊर्जा परियोजना पुनः सञ्चालन हुने, २ महिनाभित्रै सुरु गरिने

काठमाडौं : काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच युरोपियन युनियनको सहयोगमा काठमाडौं महानगरको टेकुमा स्थापना भई हाल बन्द अवस्थामा रहेको फोहोरबाट ऊर्जा परियोजनाको पुन:स्थापना र दिगो सञ्चालनका लागि समझदारी भएको छ । 

समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइले हस्ताक्षर गरेका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री नियुक्त भए देखि नै बन्द अवस्थामा रहेको काठमाडौं महानगरपालिकाको टेकुस्थित उक्त फोहोरबाट ऊर्जा परियोजना पुन:सञ्चालनमा ल्याई नमूना परियोजनाको रुपमा दिगो सञ्चालन गर्न चासो व्यक्त गर्दै केन्द्रलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग हालै भएको भेटमा समेत फोहोरबाट ऊर्जा उत्पादनको नमुना परियोजना यही वर्ष सञ्चालनमा ल्याउनुका साथै काठमाडौँका सडक बत्तीहरूको व्यवस्थित सञ्चालन र मर्मत लगायतका विषयमा छलफल गरेका थिए। त्यसैगरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाहले समेत यस विषयमा निरन्तर समन्वय गर्दै आएकी थिइन। 

समझदारीपत्रमा हस्ताक्षरका अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले परियोजनाका कार्य निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुका साथै भविष्यमा पनि महानगरपालिका र केन्द्रबीच यस्ता परियोजनाका लागि सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको धारणा व्यक्त गरिन् । 

उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना पुन:सञ्चालनमा ल्याउने सम्बन्धमा हाल सम्म भएका तयारी कार्यहरुको बारेमा जानकारी दिंदै परियोजनाको लागि विश्व बैंकको सहयोगमा केन्द्रद्वारा सञ्चालित मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमबाट आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।

साथै ढकालले आगामी दिनमा समेत यस प्रकारका आयोजनामा केन्द्र र महानगरपालिकाबीच सहकार्यलाई निरन्तरता दिने बताए । 

‍यो समझदारीपत्रले परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण र दिगो सञ्चालन सुनिश्चित गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरपालिका बीचको सहकार्यको लागि भूमिका र जिम्मेवारी स्पष्ट पारेको छ । समझदारी बमोजिम परियोजनालाई आगामी २ महिनाभित्रै सञ्चालनमा ल्याइनेछ । 

युरोपियन युनियनको करीब रु. १ करोड ८० लाख सहयोगमा निर्माण भई केही समय सञ्चालनमा रहेको उक्त परियोजना पुन:स्थापनाको लागि आवश्यक वित्तीय स्रोत विश्व बैंकको सहयोगमा केन्द्रद्वारा सञ्चालित मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम मार्फत व्यवस्था गरिने केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार सन् २०१४ देखि विश्व बैंकको सहयोगमा सञ्चालन गरेको “नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम-विस्तारित बायोग्यास आयोजना” अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना र ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग गर्न थालनी गरेको थियो । 

हाल सो कार्यक्रम विश्व बैंककै मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेको छ, जसअन्तर्गत ७ वटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनाका लागि सहयोग उपलब्ध भएको छ । 

केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना एवं व्यावसायिक क्षेत्रमा बायोग्यासको सम्भाव्यता अध्ययन गरेको छ भने हालै मात्र हरित जलवायु कोषमा पेश गर्नको लागि ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव तयार भई अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा रहेको छ । 

त्यसैगरी केन्द्रले पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत समेत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकास कार्य अघि बढाएको छ । त्यसैगरी केन्द्रले फोहोरबाट ऊर्जामा आधारित परियोजनाहरु प्रवर्द्धन गर्ने उद्देश्यले संस्थागत, सामुदायिक तथा व्यावसायिक फोहोरबाट ऊर्जा उत्पादन हुने वायोग्यासमा आधारित साना, मझौला तथा ठूला वायोग्यास निर्माणका लागि आशयपत्र माग गर्दै सूचना प्रकाशित समेत गरेको छ ।

काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा यस्ता परियोजनाले ठूलो योगदान पुर्‍याउनुको साथै बायोग्यास तथा जैविक मलको उत्पादनबाट चक्रीय अर्थतन्त्रमा योगदान पुर्‍याउने सम्बन्धित सरोकारवालाहरुको धारणा रहेको छ ।