काठमाडौं : कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्षको नौ महिनामा २६ प्रतिशतले घटेको छ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिको असरले नेपालको पर्यटन क्षेत्र सुस्ताएपछि हेलिकप्टर सेवाको माग घट्दा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो।
आम्दानीसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन पनि खुम्चिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्षको नौ महिनामा घटेर करिब ३५ प्रतिशतमा पुगेको छ। कम्पनीका अनुसार उडान घण्टा घट्नु र प्रति उडान घण्टाबाट प्राप्त हुने आम्दानीमा कमी आउनुले नाफामा प्रत्यक्ष असर परेको हो।
यद्यपि छोटो अवधिमा कारोबारमा दबाब देखिए पनि कम्पनीको दीर्घकालीन आम्दानी वृद्धि भने सकारात्मक रहेको छ। कम्पनीले सन् २०२५ मा ८१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो।
यसअघि सन् २०२४ मा कम्पनीले को ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ को ७० करोड २० लाख रुपैयाँ र सन् २०२२ को ४० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानीको मुख्य स्रोत पर्यटनसँग सम्बन्धित उडान नै रहेको छ। सन् २०२५ मा कुल आम्दानीको करिब ५० प्रतिशत एभरेष्ट बेस क्याम्प र अन्नपूर्ण आधार शिविर केन्द्रित साहसिक पर्यटन उडानबाट प्राप्त भएको थियो। यसमध्ये एभरेष्ट बेस क्याम्पको योगदान ४८ प्रतिशत र अन्नपूर्ण आधार शिविरको २ प्रतिशत रहेको छ।
त्यस्तै, करिब ३० प्रतिशत आम्दानी उद्धार (रेस्क्यु) सेवाबाट तथा २० प्रतिशत कार्गो सेवाबाट आएको थियो। सोही वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको देखिएको छ।
सन् २०२५ मा गरिएको कुल हेलिकप्टर उडानका आधारमा कम्पनीले नेपाली बजारमा करिब १३ प्रतिशत हिस्सा ओगटेको जनाएको छ। हाल कम्पनीले तीनवटा एयरबस हेलिकप्टरमार्फत चार्टर उडान, रेस्क्यु, कार्गो सेवा, स्लिङ अपरेसन तथा एभरेष्ट र अन्नपूर्ण आधार शिविर केन्द्रित साहसिक पर्यटन सेवा सञ्चालन गर्दै आएको छ।
सन् २०१७ मा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज सन् २०२३ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको चुक्ता पूँजी हाल ३४ करोड ७० लाख रुपैयाँ रहेको छ।
कम्पनीले अहिलेसम्म कुनै ऋण नलिई सञ्चालन गर्दै आएकाले यसअघि रहेको निगरानी सूचीबाट हटाइएको जनाएको छ। कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशकको संयुक्त स्वामित्वमा कम्पनीको करिब ४० प्रतिशत शेयर रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। कम्पनीले प्रिमियम मूल्यमा कुल ११ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरका ३ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल नियुक्त गरिएको छ।