काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
संस्थाले १२ लाख रुपैयाँ र संस्थाका कर्मचारीहरूले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र गिरिले जानकारी दिए।
सहकारीको मूल भावना नै आपसी सहयोग, सहकार्य र समुदायप्रतिको जिम्मेवारी भएकाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु संस्थाको दायित्व भएको सीईओ गिरीले बताए।
‘सहकारी भनेको सदस्यको आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, दुःख र विपद्को समयमा समुदायको साथमा उभिने सामाजिक संस्था पनि हो। सहकारीको सिद्धान्त समुदायप्रतिको चासो र आपसी सहयोगको भावनालाई आत्मसात् गर्दै संस्थाको तर्फबाट १२ लाख र कर्मचारीहरूको तर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ,’ गिरीले भने।
उनले विपद्को समयमा सबै क्षेत्र र समुदाय मिलेर प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्ने बताए।
सहारा नेपालले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफन्तको खोजी तथा उद्धारको प्रतीक्षामा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरूलाई पनि आफ्नो इच्छाअनुसार सहयोग उपलब्ध गराई मानवीय सेवा तथा पुनःस्थापना अभियानमा सहभागी हुन अपिल गरेको छ।