नुवाकोट : भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले बेत्रावती, देविघाट र त्रिशुली बजारका सहकारी संस्थाका कार्यालय भवन, फर्निचर, विद्युतीय उपकरण, नगद, कागजात तथा अन्य महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुर्याएको जिल्ला बचत तथा ऋण सहकारी संघ, नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार बाढीबाट जिल्लाका ११ वटा सहकारी संस्था पूर्णरूपमा प्रभावित भएका छन्। बाढीका कारण संस्थाको भौतिक संरचनासँगै कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण, अभिलेख तथा अन्य सामग्रीमा समेत क्षति पुगेको उनले जानकारी दिए।
बाढीबाट पूर्णरूपमा क्षति पुगेका सहकारी संस्थाहरूमा विदुर नगरपालिका–१ का साँघु बहुद्देश्यीय सहकारी, उपकार बचत तथा ऋण सहकारी, त्रिशुली बचत तथा ऋण सहकारी, दक्षिणकाली बचत तथा ऋण सहकारी, कुलभक्तेश्वर बचत तथा ऋण सहकारी, मातृभूमि बहुद्देश्यीय सहकारी र मातामनकामना बचत तथा ऋण सहकारी रहेका छन्।
त्यस्तै, विदुर–७ स्थित हाम्रो सहकारी, विदुर–१० का शुभकामना बहुद्देश्यीय सहकारी र उत्तरगया बचत तथा ऋण सहकारी तथा देविघाटस्थित जाल्पादेवी बहुउद्देश्यीय सहकारी संस्था पनि बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीका कारण ती संस्थाहरूको नियमित सेवा प्रवाहमा समेत प्रत्यक्ष असर परेको छ। कार्यालय तथा आवश्यक उपकरण र अभिलेखहरूमा क्षति पुगेपछि सदस्यलाई वित्तीय सेवा प्रदान गर्न समस्या भएको बताइएको छ।
सहकारी संस्था स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएका वित्तीय संस्था भएकाले सहकारी आफैं विपद्को चपेटामा पर्दा त्यसको प्रत्यक्ष असर सदस्य तथा समुदायमा समेत पर्ने देखिएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरी प्रभावित सहकारी संस्थाको पुनःस्थापना तथा सेवा सञ्चालनका लागि आवश्यक सहयोग र समन्वय गर्नुपर्ने अवस्था छ।
यसैबीच, संगम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नरेन्द्र जोशीसमेत बाढीपछि सम्पर्कविहीन रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। संस्थाका केही सदस्यसमेत सम्पर्कविहीन रहेको उनले बताए।
क्षतिको थप विवरण आउन बाँकी छ ।