त्रिशूली-३बी हब क्षतिग्रस्त हुँदा सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प

त्रिशूली-३बी हब क्षतिग्रस्त हुँदा सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प

काठमाडौं : राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना सञ्चालनमा अवरोध आएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागलाई पत्र पठाउँदै आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको जानकारी गराएको हो।

कम्पनीका अनुसार गत साउत ११ गते नुवाकोटको सूर्यगढी गाउँपालिका–२ लच्याङ क्षेत्रमा पहिरो जाँदा त्रिशूली ३बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जोडिएको १३२ केभी प्रसारण लाइनमा क्षति पुगेको थियो। त्यसपछि आयोजनाको सञ्चालन अवरुद्ध भएको थियो। 

प्रसारण लाइनको मर्मतसम्भार कार्य अन्तिम चरणमा पुगेर आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली नदीको तटीय स्थानमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।

कम्पनीले प्राकृतिक विपद्का कारण आफ्नो आयोजनामा प्रत्यक्ष क्षति नभए पनि त्रिशूली–३बी हब पूर्ण रूपमा क्षतिग्रस्त भई विद्युत् प्रसारण तथा निकासीमा अवरोध उत्पन्न भएकाले आयोजना सञ्चालन बन्द रहेको जनाएको छ।

राष्ट्रिय प्रसारण लाइनको वैकल्पिक व्यवस्था वा क्षतिग्रस्त हबको पुनःस्थापना गरी विद्युत् प्रसारण प्रणाली सामान्य अवस्थामा आएपछि आयोजना पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ। 

साथै, आयोजना तथा प्लान्ट पुनः सञ्चालनको अवस्थाबारे आवश्यक जानकारी समयमै गराइने कम्पनीले सम्बन्धित निकायलाई जानकारी दिएको छ।