एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त

एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त

झापा : देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त भएका छन्।

१५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए। बेलबारी नगरपालिका-६, मोरङ निवासी रिमालको प्राध्यापनको समेत अनुभव छ ।

एनएमसीको सञ्चालक समितिको भदौ १० गते सम्पन्न बैठकबाट असोज १ गतेदेखि लागू हुनेगरी रिमाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले बताए।

एनएमसीमा प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लक्ष्मीप्रसाद उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा निर्वाचित भएपश्चात गत जेठमा एनएमसीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए।

रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूतिका लागि संस्थाले गत असार १५ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । असार मसान्तसम्म समय सिमा निर्धारण गरी आवेदन माग गरिएकोमा तोकिएको समय सिमाभित्र दर्ता भएका आवेदनहरुमध्ये संस्थाले तोकेको मापदण्डबमोजिम प्रारम्भिक सूची (सर्ट लिस्ट)का लागि छनोट गरिएको थियो ।

प्रारम्भिक सूचीमा पर्न सफल उम्मेद्वारहरुका बिच भदौ ६ र ७ गते सम्पन्न व्यावसायिक योजना प्रस्तुति तथा अन्तर्वार्तामा अन्य उम्मेद्वारहरुलाई पछि पार्दै रिमाल प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।

देशकै प्रमुख सहकारी संस्थाहरुमध्येको एक एनएमसीले बचत तथा ऋण, डेरी उद्योग, एनएमसी एग्रो फार्म, सहकारी पसल व्यवसाय र चिया उद्योग सञ्चालनमा रहेको छ । एकलाख ७० हजारभन्दा बढी सदस्य रहेको संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ रहेको छ ।

थप समाचार