एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड ३५ लाख सहयोग

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड ३५ लाख सहयोग

काठमाडौं : हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो।

बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ग्रुपले विपद्को यस कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउन र राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ।

यसैबीच, बाढीपीडितका लागि इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा सहयोग गर्ने प्रयोगकर्ताहरूप्रति पनि एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ। ग्रुपका अनुसार हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले कुल ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन्।

फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश रहेको छ। भारतबाट एनपीसीआई इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन्।

एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ।

साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति पनि ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ।

थप समाचार