माथिल्लो त्रिशुली-१ बाढी : एनडब्लुइडिसी र ठेकेदार कम्पनीले यसै साता राहत प्याकेज ल्याउने

माथिल्लो त्रिशुली-१ बाढी : एनडब्लुइडिसी र ठेकेदार कम्पनीले यसै साता राहत प्याकेज ल्याउने

काठमाडौं : माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले गत भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन्।

कम्पनीहरूले उक्त राहत प्याकेज यसै साता घोषणा गर्ने तयारी गरेका छन्। राहत प्याकेजको घोषणा तत्काल हुन नसक्नुको कारण विपद्पछि जारी खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राख्नु रहेको कम्पनीहरूले जनाएका छन्। 

नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्दै आएका छन्।

कम्पनीहरूले बाढीबाट प्रभावित कामदार, उनीहरूका परिवारजन तथा सम्पूर्ण सरोकारवालाले भोगिरहेको पीडा र अन्यौलप्रति आफूहरू पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन्।

भदौ २० गते शनिबार आयोजनास्थलमध्ये एक स्थानबाट एक जना चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा अझै फसेका हुन सक्ने व्यक्तिहरूको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन एनडब्लुइडिसीले सुरक्षा निकायसँगको सहयोग र समन्वय सुदृढ बनाएको छ।

एनडब्लुइडिसीले बाढी आएको समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत व्यक्तिहरूको विवरण संकलन गरिरहेको जनाएको छ। कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीले बताएको छ।

बाढी आएको समयमा आयोजनास्थलमा इन्जिनियरिङ, खरिद तथा निर्माण ९ईपीसी० ठेकेदार दुसान एनरबिलिटी तथा दुई सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कोरपोरेसन चाइना र एन्र्डीच हाइड्रोसहित करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए।

शनिबारसम्म ८७६ जना कामदार तथा कर्मचारीको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।

ईपीसी ठेकेदार दुसान एनरबिलिटी तथा सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कोरपोरेसन चाइना र एन्र्डीच हाइड्रोले पनि आफ्ना कामदार तथा कर्मचारीहरूको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेका छन्। प्रभावित व्यक्तिहरूको अवस्थाबारे आधिकारिक पुष्टि भएपछि सम्बन्धित परिवारलाई जानकारी गराइने जनाइएको छ।

कम्पनीहरूले जारी खोज तथा उद्धार कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्। साथै, विपत्तिमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

एनडब्लुइडिसीले परिस्थितिको निरन्तर अनुगमन गर्दै आफ्ना कामदार तथा कर्मचारीहरूको अवस्थाबारे अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गर्ने जनाएको छ।