काठमाडौं : बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र धौबञ्जार नियुक्त भएका छन्। धौबञ्जारले भदौ २१ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।
सहकारी तथा लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत धौबञ्जार यसअघि धादिङ बचत तथा ऋण सहकारी संघमा प्रमुख व्यवस्थापकका रूपमा कार्यरत थिए।
भक्तपुरका स्थायी बासिन्दा धौबञ्जारले आफ्नो सहकारी क्षेत्रको व्यावसायिक यात्रा करिब २०६६ सालतिरबाट सुरु गरेका हुन्। आफ्नै टोलमा रहेको निरपुर गणेश बचत तथा ऋण सहकारी संस्थामा लेखापालको भूमिकाबाट उनले सहकारी क्षेत्रमा प्रवेश गरेका थिए। उक्त संस्थामा स्थापनाकालदेखि नै आबद्ध भएका उनले पछि व्यवस्थापकको जिम्मेवारीसमेत सम्हालेका थिए।
सुरुवाती संस्थामा करिब चार वर्ष काम गरेपछि उनी केही समय वैदेशिक रोजगारीमा गएका थिए। विदेशमा रहेका बेला २०७२ सालमा आएको भूकम्पबाट उनको घरसमेत क्षतिग्रस्त भएपछि उनी नेपाल फर्किए। त्यसपछि वैदेशिक रोजगारीमा नफर्की नेपालमै रहेर सहकारी तथा वित्तीय क्षेत्रमा आफ्नो करिअरलाई निरन्तरता दिएका हुन्।
नेपाल फर्किएपछि २०७२ सालमा उनले कालीमाटीको तरकारी तथा फलफूल बचत तथा ऋण सहकारी संस्थामा करिब दुई–तीन हप्ता व्यवस्थापकका रूपमा काम गरे। त्यसक्रममा लघुवित्त क्षेत्रमा काम गर्ने अवसर पाएपछि काभ्रेमा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थामा करिब दुई वर्ष उप–कार्यक्रम संयोजकका रूपमा काम गरे।
२०७५ साल भदौदेखि भक्तपुरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकका रूपमा करिब पाँच वर्ष काम गरेका धौबञ्जार त्यसपछि २०७९ सालदेखि चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध भएका थिए। उनले उक्त संस्थामा २०८२ साल असारसम्म काम गरेका थिए।
सहकारी तथा वित्तीय क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवका आधारमा धौबञ्जारलाई चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।
नयाँ जिम्मेवारीसँगै धौबञ्जारले संस्थाको संस्थागत सुशासन, सदस्य सेवा तथा व्यावसायिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सहकारीलाई दिगो र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।