काठमाडौं : एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एलपी ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिको समयमा ग्यास आपूर्ति तथा बिक्री–वितरण सहज बनाउन उद्योगीहरू आफ्नो स्रोत–साधन परिचालन गर्दै निरन्तर खटिरहेको अवस्थामा मन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय रहेको उल्लेख गरेको छ।
संघका अनुसार नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले पाँच दशकभन्दा बढी समयदेखि सेवा प्रदान गर्दै आएका छन्। देशमा विभिन्न विपत्ति तथा महाविपत्तिका समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योगीहरूले निरन्तर सेवा दिँदै आएको संघको भनाइ छ।
हाल देखिएको ग्यास अभावको विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको संघले जनाएको छ। आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि चार महिनासम्म निरन्तरता दिइएको, पूर्ण सिलिन्डरको व्यवस्था गर्न संघले नेपाल आयल निगमलाई पत्राचार गरेको तथा सरोकारवाला निकायसमक्ष निर्णय परिमार्जनका लागि आग्रह गर्दा समेत उचित सुनुवाइ नभएको संघको दाबी छ।
त्यस्तै, ग्यास आयातमा आवश्यक तदारुकता नदेखिनु, पूर्ण सिलिन्डर लागू भएपछि अचानक माग बढ्नु तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता विषयलाई समेत वर्तमान अभावको विश्लेषण गर्दा गम्भीरतापूर्वक हेर्नुपर्ने संघले जनाएको छ।
संघले कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही हुनुपर्नेमा आफूहरूको समर्थन रहेको स्पष्ट पारेको छ। तर, प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको संघको भनाइ छ।
संघले कठिन परिस्थितिमा अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ सम्बन्धित निकायसँग सहकार्य गर्न र नेपाल सरकारका व्यवहारिक निर्देशन पालना गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ। साथै, ग्यास आपूर्तिलाई सहज बनाउन सहयोग गर्ने उपभोक्ता तथा सरोकारवाला निकायप्रति संघले आभार व्यक्त गरेको छ।