काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको साउनमा ५६ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
यसैगरी, साउनमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) एक अर्ब १ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोड डलरले बचतमा रहेको छ।