काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। ऊर्जा क्षेत्रमा करिब २८ वर्षको अनुभव हासिल गरेका श्रेष्ठले सन् १९९७ नोभेम्बरमा प्राधिकरणको भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा इन्जिनियर (सिस्टम अपरेटर) का रूपमा सेवा प्रवेश गरेका थिए।
प्राधिकरणभित्र प्राविधिक तथा प्रशासनिक दुवै क्षेत्रमा लामो अनुभव हासिल गरेका श्रेष्ठ पछिल्लो समय प्रसारण निर्देशनालय तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक (डीएमडी) को जिम्मेवारीमा थिए।
यसअघि उनले प्राधिकरणको ग्रिड सञ्चालन विभाग प्रमुख (निर्देशक) का साथै काठमाडौं, हेटौंडा र अत्तरियास्थित क्षेत्रीय कार्यालय प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। त्यस्तै, देशका ठूला जलविद्युत् आयोजनामध्ये एक कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र तथा हेटौंडा ग्रिड डिभिजनको प्रमुखका रूपमा पनि उनले काम गरेका छन्।
सन् १९७१ अक्टोबर १० मा जन्मिएका श्रेष्ठले भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक (बीई) गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर (एमएस्सी) उपाधि हासिल गरेका हुन्।