सांसद मदनकृष्ण श्रेष्ठ कांग्रेसको सहमहामन्त्री बन्न इच्छुक 

सांसद मदनकृष्ण श्रेष्ठ कांग्रेसको सहमहामन्त्री बन्न इच्छुक 

काठमाडौं : नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवारीका लागि दरखास्त फारम लिने क्रममा नेपाल न्यूज बैंकसँगको कुराकानीमा श्रेष्ठले सहमहामन्त्री पदमा उम्मेदवारीका लागि छलफल भइरहेको बताए। 

Sponsored Advertisement

यद्यपी, उनले आफू सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको भएपनि अन्तिम निर्णयका लागि छलफल भइरहेको बताए। ‘म सहमहामन्त्रीको लागि तयारी गरिरहेको छु । तर छलफल गरिरहेको छु। सबै कुरा आफूले चाहना मात्र गरेर हुँदैन। सबैलाई मिलाएर लानुपर्छ,’ उनले भने।

श्रेष्ठले आफूले यसअघि केन्द्रीय सदस्यमा राम्रो मतसहित निर्वाचित भएको उल्लेख गर्दै सहमहामन्त्रीमा पनि जित्न सक्ने आधार रहेको बताए । यद्यपि, पार्टीभित्र सबैलाई मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले सहमहामन्त्रीको कोटाबाट उम्मेदवारी दिने वा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।

श्रेष्ठले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु, पार्टीभित्र सुशासन र अनुशासन कायम गर्नु तथा सबै जातजाति, भाषाभाषी र समुदायलाई समेट्नु आफ्नो प्राथमिकता रहेको बताए।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै कांग्रेसलाई कार्यक्रमसहित जनतामाझ लैजानुपर्ने र जनताको मत जित्ने गरी पार्टीलाई आकर्षक बनाउनुपर्ने उनको भनाइ छ।

थप समाचार