काठमाडौं : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोबाइल्स प्राइभेट लिमिटेडको व्यापार निरन्तर खुम्चिदै गएको छ । सन् २०२६ कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले एक अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशत कम हो । कम्पनीले सन् २०२५ मा एक अर्ब ७९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ६ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख र सन् २०२२ मा तीन अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
विशेषगरी स्मार्टफोन तथा सहायक सामग्रीको आयात स्रोत भारतबाट चीनमा स्थानान्तरण हुनु र सफारी लगेजको माग कमजोर हुँदा आम्दानी घटेको रिपोर्टमा उल्लेख छ । साथै आयात स्रोत परिवर्तन हुँदा ढुवानी तथा व्यवस्थापनसम्बन्धी आवश्यकता बढेको र सञ्चालन लागतमा दबाब परेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेसन (चीन) बाट स्मार्टफोन तथा सहायक सामग्री आयात गर्न थालेपछि खर्चको संरचनामा परिवर्तन आएको छ । यससँगै विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावको जोखिम समेत बढेको छ ।
तथापी कम्पनीको आम्दानी घटे पनि सञ्चालन नाफा मार्जिनमा भने सुधार देखिएको छ । सन् २०२५ मा नकारात्मक रहेको कम्पनीको यस्तो नाफा मार्जिन सन् २०२६ मा १.८० प्रतिशत पुगेको छ ।
रियलमीसँग सम्बन्धित केही ब्रान्ड खर्च कम्पनीले फिर्ता प्राप्त गरेपछि बिक्री तथा वितरण खर्च घटेको र यसले सञ्चालन नाफामा सुधार ल्याएको रिपोर्टमा उल्लेख छ । यसका कारण कम्पनीको खुद नाफा मार्जिन पनि नकारात्मक अवस्थाबाट सुधार भएर करिब १ प्रतिशत पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल नगद सञ्चिति सन् २०२५ मा नकारात्मक रहेकामा आर्थिक वर्ष २०२६ मा एक करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ब्याज भुक्तानी क्षमतामा पनि सुधार आएको छ । सन् २०२५ मा नकारात्मक रहेको ब्याज भुक्तानी अनुपात यस अवधिमा १.२८ गुणा पुगेको छ ।
यसैगरी कम्पनीको ऋण सेवा कभरेज अनुपात (डीएससीआर) पनि अघिल्लो वर्षको ०.३९ गुणाबाट बढेर १.४० गुणा पुगेको छ । यद्यपी कम्पनीको ऋणको भार बढ्दा पुँजी संरचनामा दबाब परेको छ । सन् २०२५ मा १.६० गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा २.८४ गुणा पुगेको छ । त्यस्तै, कुल दायित्व र कुल नेटवर्थको अनुपात पनि अघिल्लो आर्थिक वर्षको १.८७ गुणाबाट बढेर ३.५१ गुणा पुगेको छ ।
वित्तीय चुनौतीका बीच कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने प्रयास गरेको छ । कम्पनीले सन् २०२६ को जुलाईदेखि चीनको जेडटीई कर्पोरेसनबाट स्रोत गरिएका जेडटीई स्मार्टफोनको गैर-विशेष आधिकारिक वितरकका रूपमा काम सुरु गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि उक्त ब्रान्डको बिक्री कम्पनीको भगिनी संस्थामार्फत हुँदै आएको थियो ।
कम्पनी रियलमी स्मार्टफोन तथा सहायक सामग्रीको नेपालका दुई आधिकारिक वितरकमध्ये एक हो । प्रतिवेदनअनुसार सन् २०२६ अगस्टसम्म नेपाली स्मार्टफोन बजारमा रियलमीको हिस्सा करिब ६ प्रतिशत रहेको छ ।
कम्पनीको वितरण सञ्जाल पनि विस्तार भएको छ । सन् २०२५ मा ६५ वटा डिलर रहेकोमा सन् २०२६ मा डिलर संख्या बढेर ३२६ पुगेको छ । रियलमी र जेडटीईबाहेक कम्पनीले सफारी लगेज तथा बौल्ट अडियो उपकरणको कारोबारसमेत गर्दै आएको छ ।
सन् २०११ जुलाई ७ मा स्थापना भएको जगदम्बा मोबाइल्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनीमा सुलभ अग्रवालको शतप्रतिशत शेयर स्वामित्व रहेको छ ।
कम्पनीले अल्पकालीन बैंक कर्जा सुविधाका लागि ७५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । यसअघि कम्पनीको अल्पकालीन बैंक सुविधा ९० करोड रुपैयाँ रहेकामा घटाएर ७५ करोड रुपैयाँ कायम गरिएको हो ।