काठमाडौं : पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा पर्यटक आगमनको निरन्तरता सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्ष सन् २०२६ को दश महिनामा १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छ ।
पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरसम्ममा १० लाख ८ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२६ को अक्टोबर महिनामा एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार अक्टोबरमा हवाई मार्ग हुँदै कुल एक लाख ३२ हजार ८१४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।
गत वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा संयुक्त राज्य अमेरिकाको रहेको छ ।
यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट १७ हजार ४३७ जना (१३.१३ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष अमेरिकाबाट १३ हजार २८६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
त्यसैगरी भारतबाट कुल १२ हजार ९७ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ९.११ प्रतिशत हो । गत वर्ष भारतबाट १७ हजार २९८ जना पर्यटक आएका थिए ।
अक्टोबरमा चीनबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि देखिएको छ । चीनबाट अक्टोबरमा ११ हजार ६९५ जना (८.८१ प्रतिशत) पर्यटक भित्रिएका छन् । गत वर्ष ५ हजार ७५५ जना मात्र चिनियाँ पर्यटक आएका थिए ।
त्यसैगरी, बेलायतबाट ९ हजार २३५, अस्ट्रेलियाबाट ९ हजार ३३२ जना, जर्मनीबाट ६ हजार ११४ जना र श्रीलंकाबाट ५ हजार ५६० जना पर्यटक नेपाल आएका छन् । यस अवधिमा बंगलादेशबाट चार हजार ८९३ जना, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ जना पर्यटक आएका छन् ।
क्षेत्रगत हिसाबले युरोपबाट सबैभन्दा बढी ३९ हजार ८७७ जना (३० प्रतिशत० पर्यटक आएका छन्, जुन गत वर्षभन्दा १६३.२ प्रतिशतले बढी हो ।
अन्य एसियाली मुलुकहरूबाट हुने आगमनमा १६.०९ प्रतिशतको वृद्धि भई २७ हजार ४० जना पुगेको छ भने अमेरिका क्षेत्रबाट १० हजार १०७ जना (२९.६ प्रतिशत) र ओसियानाबाट १० हजार १४३ जना पर्यटक आएका छन् ।
यद्यपि, दक्षिण एसियाली (सार्क) मुलुक, मध्यपूर्व अफ्रिका र अन्य क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने केही गिरावट आएको छ । दक्षिण एसियाली (सार्क) मुलुकहरुबाट २४ हजार ५३ जना (१७.२) प्रतिशतले कम), मध्यपूर्वका क्षेत्रबाट २ हजार ३३५ जना ३४.२ प्रतिशतले कम पर्यटक नेपाल आएका छन्