काठमाडौं : भगवती स्टिल इन्डष्ट्रिज लिमिटेड सन् २०२६ मा साढे एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार यसअवधिमा कम्पनीले एक अर्ब अर्ब ६० करोड ८० लाख सञ्चालन आम्दानी गरेको हो ।
उक्त रकम अघिल्लो आवको तुलनामा ३ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२५ मा एक अर्ब ६६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। यसअघि कम्पनीले सन् २०२४ मा तीन अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको थियो । यद्यपि, बिक्री परिमाणमा सामान्य वृद्धि देखिएको छ।
कम्पनीले सन् २०२६ मा १३ हजार ३७० मेट्रिक टन स्टिलजन्य उत्पादन बिक्री गरेको छ । जुन अघिल्लो वर्षको १३ हजार १७२ मेट्रिक टनभन्दा बढी हो। तर, प्रतिमेट्रिक टन औसत बिक्री मूल्य एक लाख २६ हजार ४८५ रुपैयाँबाट घटेर एक लाख २० हजार २६९ रुपैयाँमा झरेपछि कुल आम्दानीमा दबाब परेको हो।
कम्पनीको ब्ल्याक तथा जीआई पाइपको बिक्रीबाट प्राप्त आम्दानीको हिस्सा सन् २०२५ को ३९ प्रतिशतबाट बढेर सन् २०२६ मा ४५ प्रतिशत पुगेको छ। अर्कोतर्फ, टेलिस्कोपिक तथा ट्युबुलर पोलको योगदान ४० प्रतिशतबाट घटेर १८ प्रतिशतमा सीमित भएको छ। पोलको बिक्रीमा आएको कमीलाई ब्ल्याक तथा जीआई पाइपको बिक्री वृद्धिले केही हदसम्म पूर्ति गरेको देखिन्छ।
आम्दानीमा सामान्य गिरावट आए पनि कम्पनीको नाफा भने बढेको छ। सन् २०२६ मा कम्पनीको खुद नाफा ९० लाख रुपैयाँ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा यो नाफा ६० लाख रुपैयाँ थियो। कम्पनीको नगद सञ्चिति २ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको २ करोड ५० लाख रुपैयाँको तुलनामा सामान्य वृद्धि हो।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ को ४.४६ प्रतिशतबाट सामान्य घटेर ४.३६ प्रतिशत कायम भएको छ। सन् २०२६ मा कम्पनीको ओभरअल गियरिङ अनुपात ०.७५ गुणा रहेको छ । जुन अघिल्लो वर्षको ०.७३ गुणाभन्दा सामान्य बढी हो।
त्यस्तै कम्पनीको ऋण भुक्तानी क्षमतामा केही सुधार देखिएको छ । कम्पनीको ब्याज इन्टरेस्ट कभरेज अनुपात १.७९ गुणा पुगेको छ । जबकि अघिल्लो वर्ष यो १.६३ गुणा थियो। कुल ऋण र ग्रस क्यास एक्रुअल्सको अनुपात पनि २०.७१ गुणाबाट घटेर १८.५६ गुणामा आएको छ।
कम्पनीसँग हाल एक अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको ईपीसी परियोजनाको अर्डर बुक रहेको छ। उक्त अर्डर बुकले आर्थिक वर्ष २०२७ मा कम्पनीको आम्दानीका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्नो उत्पादन गतिविधि पुनः सञ्चालनमा ल्याएसँगै कम्पनीको क्रेडिट रेटिङमा राखिएको नेगेटिभ वाच हटाइएको छ। रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन बैंकिङ सुविधामा दिइएको रेटिङबाट नकारात्मक प्रभावसहितको क्रेडिट वाच हटाउँदै रेटिङलाई ‘नोटिस अफ विथड्रअल’ मा राखेको हो।
केयर रेटिङ्स नेपालले सन् २०२६ अक्टोबरमा सार्वजनिक गरेको विवरण अनुसार भगवती स्टिलको दीर्घकालीन बैंक सुविधातर्फको रेटिङ त्रिपल बी र अल्पकालीन बैंक सुविधातर्फको रेटिङ एथ्री कायम छ।
यसअघि कम्पनीको उत्पादन प्लान्ट करिब दुई महिनासम्म बन्द भएपछि रेटिङलाई नेगेटिभ इम्प्लिकेसनसहितको क्रेडिट वाचमा राखिएको थियो। तर, उत्पादन पुनः सञ्चालनमा आएको र कम्पनीले सन् २०२६ मा आफ्नो वित्तीय प्रदर्शनलाई ठूलो गिरावट हुन नदिएको आधारमा उक्त वाच हटाइएको हो।
कम्पनीको उत्पादन केन्द्रमा सन् २०२५ अक्टोबर ३ देखि व्यवस्थापन र श्रमिकबीच बोनस भुक्तानीसम्बन्धी विवाद उत्पन्न भएपछि उत्पादन गतिविधि रोकिएको थियो। करिब दुई महिनासम्म सञ्चालन प्रभावित बनेको कम्पनीले सन् २०२५ नोभेम्बर २१ देखि पुनः उत्पादन सुरु गरेको थियो।
प्लान्ट बन्द हुँदा उत्पादन तथा बिक्री प्रभावित भए पनि कम्पनीले परिवर्तनीय खर्च र प्रशासनिक खर्चमा नियन्त्रण कायम गर्दै आम्दानीमा भएको गिरावटको प्रभावलाई केही हदसम्म व्यवस्थापन गरेको रेटिङ एजेन्सीले जनाएको छ।
कम्पनीले एमएस ब्ल्याक पाइप, जीआई पाइप, ट्युबुलर पोल, टेलिस्कोपिक पोल, विभिन्न संरचनात्मक सामग्री, सटर प्रोफाइललगायत उत्पादन गर्दै आएको छ। साथै, कम्पनीले जीपी, एचआरसी र सीआरसी सिटको प्रशोधन तथा ग्राहकको आवश्यकताअनुसार आपूर्ति र इन्जिनियरिङ सेवासमेत प्रदान गर्दै आएको छ।
बाराको सिमरा क्षेत्रमा रहेको उत्पादन केन्द्र भारत–नेपाल सीमाना तथा वीरगन्ज सुक्खा बन्दरगाहबाट करिब १५ किलोमिटरको दूरीमा रहेकाले भारतबाट आयात हुने कच्चा पदार्थ ढुवानीमा लागत लाभ प्राप्त गर्न सक्ने अवस्था छ। कम्पनीले ‘बीएसटी’ ब्रान्डमार्फत देशभर उत्पादन बिक्री गर्दै आएको छ।
कम्पनीले प्रयोग गर्ने अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा स्टिल तथा फलामको मूल्य परिवर्तनले उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्छ। सन् २०२६ मा कच्चा पदार्थको लागत कम्पनीको कुल सञ्चालन आम्दानीको ९२ प्रतिशत रहेको छ।
सन् १९९१ मा स्थापना भएको भगवती स्टिलले करिब तीन दशकदेखि स्टिल पाइप, ट्युब तथा अन्य स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन केन्द्र बाराको छतापिप्रामा रहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ५९ हजार मेट्रिक टन रहेको छ।