काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालनका लागि तयार पारिएको नियमावलीको प्रारम्भिक मस्यौदामा सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ।
पुँजी बजारमा कारोबारको गति, तरलता तथा मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार पारेको हो।
उक्त मस्यौदा बोर्डले यसअघि सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ का आधारमा तयार गरिएको जनाएको छ।
प्रस्तावित नियमावलीअनुसार अन्तरदिवसीय कारोबार सञ्चालन गर्न स्टक एक्सचेञ्ज तथा धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्रलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिने प्रस्ताव गरिएको छ।
मस्यौदामा लगानीकर्तालाई अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनुअघि धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन गर्ने क्षमता तथा कारोबारका लागि उपयुक्तताको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था समेटिएको छ। कारोबार सञ्चालन गर्नुअघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक सर्तसमेत परीक्षण गर्नुपर्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी, अन्तरदिवसीय कारोबारका लागि आवश्यक प्राविधिक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समयमै जोखिम नियन्त्रण गर्न सक्ने संयन्त्र कायम गर्नुपर्ने व्यवस्था मस्यौदामा राखिएको छ। यस्तो कारोबारअन्तर्गत लगानीकर्ताले सोही दिन धितोपत्र खरिद तथा बिक्री गरी सिर्जना भएको खुला अवस्था बन्द गर्नुपर्नेछ। तोकिएको समयभित्र खुला अवस्था बन्द नभएमा स्वतः कारोबार बन्द हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
अन्तरदिवसीय कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिएबमोजिम आवश्यक मार्जिन कायम गर्नुपर्नेछ। बजारको उतारचढावका आधारमा परिवर्तनशील मार्जिन (भेरिएसन मार्जिन) समेत निर्धारण गर्न सकिने मस्यौदामा उल्लेख छ। यसका साथै ग्राहक, धितोपत्र दलाल व्यवसायी, व्यक्तिगत धितोपत्र तथा समग्र बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गरिने प्रस्ताव गरिएको छ।
जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रको व्यवस्था गर्नुपर्ने दायित्व पनि धितोपत्र दलाल व्यवसायीलाई तोकिएको छ। अन्तरदिवसीय कारोबारलाई व्यवस्थित बनाउन बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले लगानीकर्ता शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था मस्यौदामा समावेश गरिएको छ।
बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबारलाई आवश्यकताअनुसार चरणबद्ध रूपमा कार्यान्वयन गर्न सक्ने प्रस्तावसमेत गरेको छ।
सेबोनले प्रस्तावित नियमावलीको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला सबै पक्षबाट राय तथा सुझाव माग गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले मंसिर ४ गतेभित्र आफ्नो सुझाव बोर्डसमक्ष पेस गर्न सक्नेछन्।