Below Menu

लाओससँग व्यापारिक सम्बन्ध विस्तार गर्न चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापारिक सम्बन्ध विस्तार गर्न चेम्बर अफ कमर्स गठनको पहल

काठमाडौं : नेपाल र लाओसबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

Sponsored Advertisement

नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नेपालका लागि लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा दुई देशबीच सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउनुपर्ने बताएका हुन्।

श्रेष्ठले नेपाल र लाओसबीचको साझा बौद्ध सम्पदालाई द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै लुम्बिनीमा लाओसको बुद्ध मन्दिर निर्माणका लागि लाओस सरकार तथा सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक रहेको बताए।

नेपाल सरकारले मन्दिर निर्माणका लागि लुम्बिनीमा जग्गा उपलब्ध गराइसकेको जानकारी दिँदै उनले उक्त परियोजनालाई दुई देशबीचको मित्रताको स्थायी प्रतीक बनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी, लामो समयदेखि रोकिएको नेपाल–लाओस चेम्बर अफ कमर्स गठन प्रक्रियालाई अगाडि बढाउन आफू इच्छुक रहेको बताउँदै श्रेष्ठले दुवै देशका व्यवसायी समुदायको सहभागिताबाट व्यापार, लगानी र पर्यटनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।

नेपाल र लाओसका नागरिकबीच एकअर्काको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी तथा अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिँदै उनले जनस्तरको सम्बन्धले कूटनीतिक मित्रतालाई थप अर्थपूर्ण बनाउने बताए।

नेपालका प्रसिद्ध आँखा चिकित्सक डा। सन्दुक रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानले लाओसमा गर्दै आएको सेवा र सहकार्यलाई दुई देशबीचको मित्रताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै श्रेष्ठले यस कार्यले स्वास्थ्य सेवामार्फत जनस्तरमा सम्बन्ध विस्तार गरेको उल्लेख गरे।

उनले लाओसका नवनियुक्त राजदूत महामहिम भिथाया सायाभोङलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल र लाओसबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन अवैतनिक वाणिज्यदूतको कार्यालयले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङले आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाल र लाओसबीच धेरै समानता रहेको बताइन्। दुवै देशमा पहाड तथा प्राकृतिक सम्पदाको समानता रहेको उल्लेख गर्दै उनले पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्न आफू उत्साहित रहेको बताइन्। यस्तो सहकार्यले दुवै देशलाई लाभ पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपालका प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतले पनि नेपाल र लाओसबीचको साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे चर्चा गरे। दुवै देशमा ऐतिहासिक सम्पदा र पहाडहरू रहेको उल्लेख गर्दै उनले लाओसमा बौद्ध धर्मावलम्बीहरूको ठूलो उपस्थिति रहेको र गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले त्यहाँका नागरिकले नेपाललाई विशेष सम्मान गर्ने गरेको बताए।

लाओस भ्रमणका क्रममा त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग भेट गरी अन्धोपनको समस्या र त्यसको समाधानका लागि गर्न सकिने कामबारे छलफल गरेको डा. रुइतले जानकारी दिए।
 

थप समाचार