काठमाडौं : सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले तीन करोड ७७ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १३.७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले तीन करोड ३१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो । यसका साथै कम्पनीको वित्तीय खर्च घटेका कारण पनि खुद नाफामा वृद्धि देखिएको हो ।
गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत सात करोड १८ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा छ करोड ८५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन ४.७८ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको कुल नाफा गत वर्ष छ करोड १२ लाख ९३ हजार रुपैयाँबाट बढेर छ करोड ४१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च पनि गत वर्षको एक करोड ३७ लाख ६१ हजार रुपैयाँबाट घटेर यस वर्ष एक करोड ४ लाख ८७ हजार रुपैयाँमा सिमित भएको छ ।
यसैगरी कम्पनीको खुद सञ्चालन मुनाफा गत वर्षको असोज मसान्तसम्म चार करोड ७९ लाख २० हजार रुपैयाँ रहेको चालु आवको वर्षको सोही अवधिमा बढेर चारकरोड ९३ लाख ४६ हजार रुपैयाँ पुगेको छ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ५.८७ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल नेटवर्थ ८० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको भने प्रतिशेयर नेटवर्थ १२५.७७ रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म ६४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ५४ लाख २९ हजार रुपैयाँ सञ्चित रहेको छ।