Below Menu

स्वदेशी मुद्राको प्रयोग र सदस्यता विस्तारमा जोड दिँदै नेपाल राष्ट्र बैंकले सम्हाल्यो एसीयुको अध्यक्षता

स्वदेशी मुद्राको प्रयोग र सदस्यता विस्तारमा जोड दिँदै नेपाल राष्ट्र बैंकले सम्हाल्यो एसीयुको अध्यक्षता

काठमाडौं : नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयु) को स्थायी प्राविधिक समितिको बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औँ बैठक नोभेम्बर १८, २०२६ मा काठमाडौँमा सम्पन्न भएको छ । 

Sponsored Advertisement

अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विविध विषयहरूमा छलफल गर्न आयोजित उक्त बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर लगायत सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयु सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सञ्चालक समितिको ५४औँ बैठकले सन् २०२६/२७ का लागि एसीयुको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको थियो । त्यस अवसरमा बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अध्यक्षता ग्रहण गर्दै स्वागत मन्तव्य राखेका थिए । 

मन्तव्यका क्रममा डा. पौडेलले एसीयुको उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्रा प्रयोग गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।  

साथै, एसीयु को Bi-Monthly Net Settlement प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउनसक्ने सम्भावित कठिनाईबाट जोगाउन सुरक्षा कवचका रूपमा काम गर्ने विश्वास व्यक्त गरे । 

बैठकमा इरानका केन्द्रीय बैंकका डेपुटी गभर्नर डा. अस्गर अबोलहसनी हतियानीले परिचयात्मक मन्तव्य राखेका थिए भने एसीयुका महासचिव डा. मोज्ताबा खलेसीले उद्घाटन मन्तव्य राखेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव आर्मिडा सल्सियाह अलिसजाहबानाले भिडियो सन्देशमार्फत बैठकलाई सम्बोधन गरेका थिए । 

साथै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फस्र्यौटको सन्दर्भमा युनियनको भूमिका दर्शाउँदै संस्थागत सुदृढीकरण र निरन्तर कार्यसम्पादनका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

बैठकले एसीयु महासचिवको ‘The Minutes of the 53rd Board of Directors’ meeting held by Central Bank of Iran (CBI) and Operation of the ACU in 2024-25’ सम्बन्धी प्रतिवेदन ग्रहण गरेको थियो भने नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिले गरेका सिफारिसहरू अनुमोदन गरेको थियो । 

कार्यक्रममा सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ-आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, बैठकमा ‘Digital Economy and Cross Border Regional Cooperation Roadmap’ विषयमा छलफल भएको थियो । 

बैठकले सन् २०२७/२८ का लागि एसीयुको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार तथा उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गर्नुका साथै बैठकले सञ्चालक समितिको आगामी बैठक जुन, २०२७ मा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले गरेका थिए । समापनपश्चात् आयोजित विशेष समारोहमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा डा. वाग्लेले एसीयुले विगत ५० वर्षभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौतीहरूको सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहनेमा जोड दिए । 

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ मा एसियन क्लियरिङ युनियनको स्थापना भएको हो ।

इरानको तेहरानमा सचिवालय रहेको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्का गरी जम्मा ११ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन्।
 

थप समाचार