काठमाडौं : नेपालको पहिलो केबलकारका रूपमा स्थापित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गर्दै मंसिर ८ गतेदेखि आफ्नो सञ्चालनको २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यस केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। स्थापनाकालदेखि नै धार्मिक पर्यटन प्रवर्द्धन र यात्रुहरूलाई सहज आवागमनको सेवा प्रदान गर्दै आएको यस केबलकारले नेपाली पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यस विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि, परिकल्पना र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
२८ वर्षको सफल यात्रामा साथ, विश्वास र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्गप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ। साथै, कम्पनीको सफल सञ्चालन र प्रगतिका लागि निरन्तर समर्पित सम्पूर्ण कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूप्रति पनि धन्यवाद ज्ञापन गरेको छ।
त्यसैगरी, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालयहरू र सम्पूर्ण शुभेच्छुकहरूको निरन्तर सहयोग र सद्भावप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।
२९औँ वर्षमा प्रवेशसँगै मनकामना केबलकारले आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा, सुरक्षित यात्रा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। २८ वर्षको सफल यात्रा र २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको उपलब्धिलाई आत्मसात् गर्दै कम्पनीले आगामी दिनमा पनि नेपालको पर्यटन तथा पूर्वाधार विकासमा योगदान पुर्याउँदै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।