Below Menu

नेपाल-भारत संयुक्त विज्ञप्ति : सीमा विवाद टुंग्याउन निर्देशन, ठूला जलविद्युत् आयोजना अघि बढ्ने

नेपाल-भारत संयुक्त विज्ञप्ति : सीमा विवाद टुंग्याउन निर्देशन, ठूला जलविद्युत् आयोजना अघि बढ्ने

काठमाडौं : नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिको चर्चा गरिएको छ । उक्त प्रगतिको नेपाल-भारतले सन्तोष व्यक्त गरेका छन् ।

Sponsored Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमाको विषय पनि उल्लेख गरिएको हो ।

संयुक्त प्रेस विज्ञप्तिमा बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका छन् ।

साथै नेपाल र भारतबीच पञ्चेश्वर तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन र प्रस्तावित जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको छ ।

त्यस्तै, हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ’बी ३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुट’ लाई दुईतर्फी बनाउने सहमति भएको छ ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्रीको राजकीय भ्रमणबारे संयुक्त प्रेस विज्ञप्ति (२२–२३ नोभेम्बर २०२६)

१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो । उहाँसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्री पद सम्हालेपछि प्रधानमन्त्री बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण हो।

२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति महामहिम द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नुभयो।

३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, आपसी हितका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।

४. नेपालमा ठूलो जनधनको क्षति तथा भौतिक संरचनाको विनाश निम्त्याएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो।

५. भारतीय प्रधानमन्त्री मोदीले निकट मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता दोहो¥याउनुभयो। भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउनेछ।

यसअन्तर्गत विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ (५ हजार ६०० करोड नेपाली रुपैयाँ) अनुदान सहायता उपलब्ध गराइनेछ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ (१८ हजार ४०० करोड नेपाली रुपैयाँ) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ। विकास सहायता उपलब्ध गराउने सम्बन्धमा विशेष परियोजना तथा कार्यविधि आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ ।

६. दुवै नेताले नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायतका कार्यक्रमको प्रगतिलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभयो।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काममा भएको प्रगतिको पनि उहाँहरूले समीक्षा गर्नुभयो। साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको दुवै नेताले स्वागत गर्नुभयो।

७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र स्वीकार गर्नुभयो। उक्त दृष्टिकोणपत्रले नेपाल र भारतबीच महत्त्वाकांक्षी तथा भविष्यकेन्द्रित साझेदारीका लागि मार्गचित्र प्रदान गर्नेछ ।

यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया रहेका सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहल समेटिएका छन्। साथै, जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका अवसर सिर्जना गर्ने विषय पनि समावेश छन्।

८. दुवै नेताले हवाई सेवासम्बन्धी विषयमा भइरहेको छलफललाई निरन्तरता दिँदै कनेक्टिभिटी विस्तार तथा द्विपक्षीय आर्थिक गतिविधि बढाउने विषयमा सहमति जनाउनुभयो।

विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यससम्बन्धी कार्यविधि अन्तिम रूप दिन प्राविधिक परामर्श गरिनेछ। दुवै पक्षबाट छलफलमा रहेका हवाई सेवासम्बन्धी अन्य प्रस्तावलाई पनि सम्बोधन गरिनेछ।

९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच उपलब्ध गराइनेछ।

१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार र सीमा पूर्वाधार विस्तारको महत्त्वमा जोड दिनुभयो।

११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयू-कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गर्नुभयो।

यस रेल सेवाले यातायात सम्पर्क सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने र नेपाल–भारतबीचको सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउनेछ। दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै सम्पर्क विस्तारका सम्भावना खोज्ने सहमति जनाउनुभयो।

१२. प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थलगत स्थान सर्वेक्षण सम्पन्न भएको दुवै नेताले घोषणा गर्नुभयो। साथै, नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि दुवै देशले सहकार्य गर्ने घोषणा गर्नुभयो।

१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो। साथै, भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका एकीकृत जाँच चौकीको प्रगतिको स्वागत गर्नुभयो। नेपाल र भारतबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा छन्।

१४. भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटर सञ्चालनयोग्य पुलको दुवै नेताले उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपाल र भारतबीच प्रत्यक्ष यातायात सम्पर्क सुधार गर्न सहयोग पुर्याउनेछ।

१५. सीमास्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गर्नुभयो। बाँकी सीमा समस्यामा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो।

१६. नेपाल र भारतबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ।

दुवै नेताले नेपालमा झापास्थित पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो। साथै, सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम शीघ्र सुरु गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा पनि सहकार्यको सम्भावना खोज्ने सहमति भएको छ।

१७. भारत-नेपाल ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्नुभयो।

नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय सहभागिताको स्वागत गर्दै ती कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत् आयोजनाको काम शीघ्र सम्पन्न गर्न आवश्यक पहल गर्ने सहमति भएको छ। यसै अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।

१८. पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा आयोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई दुवै नेताले निर्देशन दिनुभयो।

त्यसैगरी, जलस्रोतको पारस्परिक लाभ लिन तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई तीव्रता दिनुपर्नेमा पनि दुवै नेता सहमत हुनुभयो।

१९. नेपालस्थित इनरुवा र भारतको न्यु पूर्णियाबीच तथा नेपालस्थित दोधारा र भारतको बरेलीबीच निर्माण गरिने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइनका लागि संयुक्त कम्पनी (जेभी) गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्नुभयो।

२०. नेपालमा भारतको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा दुवै नेताले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अन्तर्राष्ट्रिय शाखा स्थापना गर्ने सहमति गर्नुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा थप क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा समेत सहयोग पु¥याउनेछ। दुवै नेताले स्टार्टअप, डिजिटल तथा वित्तीय कनेक्टिभिटीसहित प्रविधिको क्षेत्रमा नेपाल र भारतबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।

२१. एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण बनाउन दुवै पक्षले आपसी सहजीकरण गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेका छन्।

२२. भ्रमणका क्रममा नेपाल र भारतबीच निम्न आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् :

१. फरेन्सिक विज्ञान तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र : भारतको गुजरातस्थित गान्धीनगर राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।

२. प्रहरी तथा सुरक्षा तालिमसम्बन्धी समझदारीपत्र: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य।

३. निजामती कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी समझदारीपत्र: भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता विकास तथा तालिम कार्यक्रम सञ्चालन।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीसम्बन्धी समझदारीपत्र: आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य।

५. भूउपग्रह सञ्चार सञ्जाल स्थापनासम्बन्धी समझदारीपत्र : दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्न भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच सहकार्य।

६. दिगो सहरी विकाससम्बन्धी समझदारीपत्र : दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य।

७. स्वास्थ्य तथा औषधिसम्बन्धी समझदारीपत्र : भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य।

८. पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी समझदारीपत्र: पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य।

२३. प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभयो। साथै, उहाँले भारतीय प्रधानमन्त्रीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्री मोदीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो। भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।

२४. नेपाल-भारत साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान तथा सबै तहको समझदारीमा आधारित छ। जनस्तरको बलियो सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले यस सम्बन्धलाई थप मजबुत बनाएको छ।

यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमण तथा संवादको परम्परालाई पुनः पुष्टि गरेको छ। साथै, उक्त सम्बन्धलाई आगामी दिनमा अझ अघि बढाउने दुवै पक्षको प्रतिबद्धता पनि दोहोर्याएको छ।

२३ नोभेम्बर २०२६

थप समाचार