काठमाडौं : हिम पावर हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये चार करोड २२ लाख ५ हजार रुपैयाँ बराबरको चार लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै कम्पनीले सामूहिक लगानी कोषहरुका लागि दुई लाख ११ हजार २५० कित्ता र कर्मचारीहरुका लागि एक लाख २६ हजार ७५० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले बाँकी रहेको ३४ करोड ६४ लाख ५० रुपैयाँ बराबरको ३४ लाख ६४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा पुस ३ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।