काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
खेलकुद, प्रकृति र आपसी सद्भावलाई जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले खेलप्रेमीलाई विशेष अनुभव प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
प्रतियोगितामा ‘होल इन वान’ गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कारस्वरूप प्रदान गरिनेछ । यस्तै, अन्य विधाका विजेताका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमीबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।