काठमाडौं : नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ।
भारतीय मुद्रा खरिद-बिक्रीको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त उक्त कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले जारी गरेको सूचनाअनुसार, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम २०८३ कात्तिक २० गतेको निर्णयबाट कम्पनीको इजाजतपत्र खारेज गरिएको हो।
राष्ट्र बैंकले उक्त मनिचेञ्जरको इजाजतपत्र खारेज गरिएको जानकारी सम्बन्धित सबैलाई गराउन सूचना प्रकाशित गरेको छ।