विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाका, मोरङका तीन सञ्चालक प्रक्राउ परेका छन्। सदस्यहरुको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो।
जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्ने व्यक्तीहरुको नाम सार्वजनिक गरेको छ । पक्राउ पर्ने संस्थाका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जानकारी दिएको छ।
संस्थाका सञ्चालकहरु गत फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए। सोही उजुरकिो आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।
संस्थाको मुख्य कार्यालय विराटनगरमा रहेको छ । त्यस्तै झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा सेवा केन्द्र रहेको छ। सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।
प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ।
Advertisment