Below Menu
Below Menu

सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री

सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउने उपायहरू खोजिरहेको जनाए । 

“अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने ।

विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको भन्दै उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने जनाए । 

भूकम्प, कोरोना, रूस र युक्रेन युद्ध लगायतका कारणले अर्थतन्त्रमा समस्या आएको प्रधानमन्त्रीको दाबी थियो । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसकिने उनको भनाइ छ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने ।

ऋण नतिर्ने भन्नु अराजक प्रवृत्ति भएको भन्दै त्यस विषयमा सरकार कठोर हुने जनाए । उनले भने “बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,” 

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रह गरेका थिए । 

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा। प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत उपस्थित थिए । 

Advertisment

थप समाचार