काठमाडौैं : मुलुकमा देखिएको आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा पनि देखिएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा उद्योग क्षेत्रको लगानी ३२.५६ प्रतिशतले घटेको छ ।
विभागका अनुसार गत आव २०७९/८० मा एक अर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानीका ३२३ वटा उद्योग दर्ता भएका छन् । जबकी अघिल्लो आवमा एक खर्ब ७० अर्ब ९० करोड रुपैयाँ लगानीका ३०८ वटा उद्योग दर्ता भएका थिए ।
अर्थतन्त्रमा देखिएको शिथिलता, बढ्दो ब्याजदर र मूल्यवृद्धि लगायत विभिन्न कारणले उद्योग क्षेत्र विस्तारतर्फ स्वदेशी तथा विदेशी लगानीकर्ताको उत्साह, मनोबल र आत्मविश्वास घटेको देखिन्छ । यस अवधिमा उद्योग दर्ताको संख्यामा वृद्धि भएपनि लगानीको प्रतिवद्धता भने घटेको पाइएको छ ।

कुन क्षेत्रमा कति आयो लगानी प्रतिवद्धता
विभागका अनुसार आव २०७९/८० मा आएको लगानीमध्ये सबैभनदा बढी उर्जा क्षेत्रमा आएको छ । यस अवधिमा उर्जा क्षेत्रका ४५ वटा उद्योगका लागि एक अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, आईसीटी क्षेत्रका १६ उद्योगका लागि एक अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
त्यसैगरी, यस अवधिमा पर्यटन क्षेत्रका ६७ उद्योगका लागि २५ अर्ब २७ करोड, कृषि तथा वनजन्य क्षेत्रका १० उद्योगका लागि एक अर्ब ९९ करोड, उत्पादनमुलक क्षेत्रका ११४ उद्योगमा ४१ अर्ब ९१ करोड, पूर्वाधार क्षेत्रको एक उद्योगमा १३ करोड, सेवामुलक क्षेत्रका ६६ उद्योगमा ३० अर्ब ८२ करोड र खनिज तर्फका चार उद्योगका लागि ७६ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
एक वर्षमा तीन करोडले बढ्यो विदेशी लगानी
विभागका अनुसार विदेशी लगानीमा भने थोरै वृद्धि भएको पाईएको छ । गत आवमा विदेशी लगानीका ३२७ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३३ अर्ब ३९ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । अघिल्लो आवमा ३३ अर्ब ४२ करोड रुपैयाँ बराबरको १५५ उद्योग दर्ता भएका थिए।
दर्ता भएका उद्योगमा साना उद्योग २९७ वटा, मझौला उद्योग २५ वटा र ठूला उद्योग ५ वटा रहेका छन् । जसमा १७ हजार १२ जनालाई रोजगारी प्रतिवद्धता हुने जनाइएको छ।
Advertisment