काठमाडौं : एक वर्षमा २९ हजार व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २६६ व्यक्ती तथा कालोसूचीमा परेका हुन् ।
यस अवधिमा कालोसूचीमा पर्ने कम्पनीमा सहकारी, होेटल तथा रेष्टुरेन्ट, हस्पिटल, कलेज देखि निर्माण कम्पनीहरु पनि रहेका छन् । समयमा ऋण तिर्न नसकेका कारण केन्द्रले कालोसूचीमा राखेको हो ।
मुलुकमा देखिएको आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प छन् । बढ्दो ब्याजदरका कारण ठूला व्यवसायीहरुले लगानी गर्न नसकेका छन् । आर्थिक गतिविधि सुस्त हुँदै गएपछि समयमा ब्याज र ऋण तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको विज्ञहरुको भनाई छ ।
केही समयअघि बजारमा देखिएको तरलता अभावको समस्या विस्तारै सहज हुँदै गएको छ । तर, पनि बैंकहरुले ऋण लगानी गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर बसेको छ । लगानीका लागि उपयुक्त वातावरण सिर्जना नभएका कारण कर्जा प्रवाह गर्न नसकेको बैंकहरुको भनाई छ ।
यस अवधिमा झण्डै चार दर्जन भन्दा बढी सहकारी नै कालोसूचीमा परेका छन् । सरकारले अर्थतन्त्रको तेस्रो खम्बा मानेको सहकारीहरु कालोसूचीमा पर्दै जानुले अर्थतन्त्रमा झन् नकारात्मक असर पारिरहेको छ । पछिल्लो समय अनुत्पादन क्षेत्रमा लागनी गरेका कारण पनि धेरैजसो सहकारीहरु समस्यामा परेको सहकारी विज्ञहरु बताउँछन् ।
नियमनको अभावका कारण दर्जनौं सहकारीहरुले बचतकर्ताको अरबौं रकम ठगी गरेका छन् । बचतफिर्ताको माग गर्दै बचतकर्ताहरुको सडक आन्दोलनमा छन् भने सरकार मौन छ । सेयर बजार र घरजग्गामा लगानी गरेका कारण पनि अहिले सहकारीहरु समस्यामा परेका छन् घरजग्गाको कारोबार सुस्त छ भने सेयरबजार पनि निरन्तर रुपमा घटिरहेको छ । यसले गर्दा पनि सहकारीहरु झन् समस्यामा परेका हुन् ।
अर्कोतर्फ धेरै जसो निर्माण व्यवसायी र कम्पनीहरु पनि कालोसूचीमा परेका छन् । समयमा काम नसक्नु र भुक्तानी गर्न नसकेका कारण पनि धेरैजसो निर्माणका ठेक्का तोडिएको छ भने निर्माणका कामहरु अलपत्र परेका छन् । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने अरबौं रकम बाँकी छ । निर्माणका कामहरु समयमा नहुनुले पनि आर्थिक गतिविधि सुस्ताएको छ । यसले गर्दा पनि धेरैजसो व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका हुन् ।
यस अवधिमा कालोसूचीमा परेका कम्पनीहरुमा माता पलाञ्चोक फ्युल सेन्टर, हात्तिगौडा बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन, फेन्डस इन्भेष्टमेन्ट एण्ड कन्ट्रक्सन कम्पनी, दि कन्चनजंघा कन्ट्रक्सन कम्पनी, चन्द्र दिपज्याति काष्ठ तथा फर्निचर उद्योग, हिमालयन गल्फ ओभरसिज प्रालि, ग्लासियर इन्टरनेशनल स्कुल र देवराज कन्ट्रक्सन एण्ड सप्लाष्र्स रहेका छन् ।
त्यसैगरी केन्द्रले यस अवधिमा नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज, चौधरी ट्रेड एण्ड इन्भेष्मेन्ट प्रालि, नेपाल इन्भेष्मेन्ट एण्ड एसेट म्याजेजमेन्ट प्रालि, द माउन्टेन रेञ्ज टि गार्डेन प्रालि, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी, रोयल बी एण्ड डी रेष्टुरेन्ट, ओम महालक्ष्मी फर्निचर सेन्टर र जगदम्बा स्टिल फर्निचर उद्योगलाई पनि कालोसूचीमा राखेको छ ।
त्यसैगरी, उन्नत एग्रिकल्चर रिसर्च सेन्टर, र्याडिसन फेमिली रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस, अरनिको मेमोरियल इङिलस स्कुल, सञ्जिवनी हस्पिटल एण्ड आइभीएफ सेन्टर, लमजुङे अर्गानिक एग्रो टुरिजम, श्री कृषि फार्म तथा डेरी उद्योग, आर जे इन्टरनेशनल विजनेश इन्भेष्मेन्ट प्रालि, पी एण्ड पी तयारी कपडा उद्योग लगायतका कम्पनीहरु कालासूचीमा परेका छन् ।
Advertisment