काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको सिभिल लघुवित्त) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय अनुसार संस्थाले यस अवधिमा एक करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । अघिल्लो आवमा ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा गत आवमामा आइपुग्दा ७८.५० प्रतिशतले घटेको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफामा असर परेको हो । अघिल्लो आवमा गत असार मसान्तसम्म २६ करोड ८० लाख रुपैयाँ खुद आम्दानी गरेको कम्पनीको यस अवधिमा २० करोड २३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा संस्थाको खुद ब्याज आम्दानी २४.५१ प्रतिशतले कम हो ।
त्यस्तै गत असार मसान्तसम्म कम्पनीको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९.०४ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा लघुवित्तको इम्पेरिमेन्ट चार्ज बढेर एक करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १.४७ प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा बढेर गत असार मसान्तसम्म २.३७ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको चाथै त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा पुगेको छ । त्यस्तै, गत असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ ।
Advertisment