काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चाैथौ त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २१.२८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले २७ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपनि खुद नाफामा भने वृद्धि भएको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफा बढेको छ भने डिफर्ट ट्याक्स बढेका कारण पनि नाफा बढेको हो । गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ८.१९ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ७.४० प्रतिशत र सञ्चालन नाफा १०.६९ प्रतिशतले घटेको छ ।
उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा ७३ करोड ९१ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज घटेर ३५ करोड २७ लाखमा झरेको छ । यस अवधिमा कम्पनीको डिफर्ड ट्याक्स आम्दानी १८४.५७ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो ट्याक्स आम्दानी ४ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा २४ रुपैयाँ ९४ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३६ पैसाले बढेर गत असार मसान्तसम्म आइपुग्दा २६ रुपैयाँ ३१ पैसा पुगेको छ । । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ८.६६ प्रतिशत पुगेको छ ।
Advertisment