काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ ।
अघिल्लो आवमा ३६ करोड ४० लाख रूपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४० करोड रूपैयाँ नाफा कमाएको छ । यस अवधिमा कम्पनीको नाफा ९.८९ प्रतिशतले बढेको हो ।
उक्त विवरण अनुसार कम्पनीको नाफा बढेसँगै बीमाशुल्कमा पनि वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले ७९ करोड ८१ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ६६ करोड ८१ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २६ रूपैयाँ ७६ पैसा रहेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख रहेको छ भने जगेडा कोषमा ४९ करोड २७ लाख रूपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेको छ । अघिल्लो आवमा ३३ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको व्यवस्थापन खर्च गत आवमा आइपुग्दा १.९७ प्रतिशतले घटेर ३२ करोड ९० लाख रुपैयाँमा झरेको छ ।