काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ ।
अघिल्लो आवमा २७ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४३ करोड २२ लाख रूपैयाँ नाफा कमाएको छ । यस अवधिमा कम्पनीको नाफा ५७.२८प्रतिशतले बढेको हो ।
उक्त विवरण अनुसार कम्पनीको नाफा बढे पनि बीमाशुल्कमा भने कमी आएको छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड ४७ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ९७ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाँ ४४ पैसा रहेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ४७ करोड ९९ लाख रूपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशन खर्च घटेको छ । अघिल्लो आवमा ५७ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको कमिशन खर्च गत आवमा आइपुग्दा ११.९४ प्रतिशतले घटेर ५० करोड ८० लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ७१ करोड ७७ लाख दाबी भुक्तानी गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीले ५६ प्रतिशत बढी दाबी भुक्तानी गरेको हो । भुक्तानी हुन बाँकी दाबी ८८ करोड १८ लाख रुपैयाँ रहेको छ ।
Advertisment