Below Menu
Below Menu

धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब कायम, ६६ अर्ब ११ करोडको शेयर निष्कासन 

धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब कायम, ६६ अर्ब ११ करोडको शेयर निष्कासन 

काठमाडौं : गत असार मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँमा कायम भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो असार मसान्तसम्म बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रहेको थियो ।

त्यस्तै अघिल्लो असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क गत असार मसान्तमा आइपसग्दा २०९७.१ कायम भएको छ । यस अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । अघिल्लो असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण शेयर, १० खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड बराबरको बोनस शेयर, ३५ अर्ब ५९ करोड बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर र रु.३ करोड ७९ लाख बराबरको एफपीओ गरी कुल ७ खर्ब २ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड बराबरको साधारण शेयर, १६ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र ११ अर्ब ६० करोड बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । 
 

Advertisment

थप समाचार