व्यवसायमा
काठमाडौं : लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।
हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ । बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना साना व्यापारीले सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
“कोरोना महामारीपछि बैंकहरूले सहज ऋण दिँदैनन्, लगानी गर्ने रकम नपाएपछि उत्पादन बढाउन सकिएन, त्यसकारण बजारको माग धान्न सकिएन,” उनले भने । अध्यक्ष तामाङका अनुसार पुष्प नीतिहरू कार्यन्वयन हुन नसक्दा पनि लगानी विस्तार गर्न र उत्पादन बढाउन समस्या भएको हो ।
अघिल्ला आर्थिक वर्षमा कोरोना महामारीका कारण फूलको कारोबार कम भए पनि गत आवमा भने तीन अर्ब सात करोडको कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ करोडले बढी हो ।
कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोलाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र रातो गुलाफ भने छिमेकी मूलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।
कोरोना महामारी अघि गुलाफ आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो समय यसको उत्पादन घढ्दै गएको कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मूल्य बढ्दै गएको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।
फूलको मागमा आएको वृद्धिसँगै काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा सर्सरी विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् ।
Advertisment