नौं अर्ब निक्षेप थपिदा एक अर्ब कर्जा लगानी
काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिदै गएको छ । लामो समयदेखि लगानीयोग्य रकम (तरलता संकट) झेलिरहेको वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएको छ तर, बैंकहरुमा निक्षेप थुप्रिरहेको बेला बैंकहरुले भने लगानी गर्न सकिरहेका छैनन् ।
बढ्दो ब्याजदरका कारण नै बजारमा पैसा लगानी हुन नसकेको राष्ट्र बैंकका पूर्व गर्भनर चिरञ्जीवी नेपाल बताउँछन् । उनी भन्छन्, ‘चर्को ब्याजदरका कारण बैंकहरुले लगानी गर्न सकेका छैनन् । कर्जा विस्तार साढे ११ प्रतिशत भनेको छ । साढे ११ प्रतिशत कर्जा विस्तार हुँदा ब्याजदर घटेपनि बैंकहरुले एकै पटक लगानी गर्न सक्दैनन् ।
उनका अनुसार बैंकहरुले कर्जा विस्तारलाई पनि बढाउनुपर्छ भने १२ प्रतिशत रहेको मनी सप्लाई पनि बढाइयो भने बजारमा पैसा जान्छ । सहुलियपूर्ण कर्जा पनि छैन । यसले गर्दा पनि बजारमा पैसा नगएको उनको भनाई छ ।
यसका साथै व्यवसायीहरुको मनोबल खस्किएका कारण पनि बजारमा कर्जा लगानी हुन नसकेको उनको भनाई छ । उनले भने, ‘बजारमा कन्फिडेन्स छैन । महंगो ब्याजमा पैसा लिदैनन् । व्यवसायी र उद्योगीहरुमा आत्मविश्वास नै भएन । दुई तिन वर्षको दौरानमा व्यापारीहरुको मनोबल र आत्मविश्वास गिरेको छ । यसले गर्दा पनि समस्या आएको हो । ब्याजदर एकदमै बढी छ ।’
यसका साथै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण पनि अहिलेको समस्या आएको उनको भनाई छ । उनी भन्छन्, ‘अहिले वित्तीय क्षेत्रमा देखिएको समस्याको जड राष्ट्र बैंकको कसिलो मौद्रिक नीति पनि हो । यसका साथै सरकारले पनि बजेटमा कुनै कार्यक्रम नै ल्याएन । यसमा सरकार र राष्ट्र बैैंकको दुवैको दोष छ ।’
नौं अर्ब निक्षेप थपिदा एक अर्ब कर्जा लगानी
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंकिङ प्रणालीमा एकै दिन नौं अर्ब रुपैयाँ थपिएको छ । गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन ९ अर्बले बढेर ५६ खर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् भदौ २० गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थामा ५६ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्लो दिनसम्म ४९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन ८ अर्ब निक्षेप बढेर ४९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा नौं अर्ब निक्षेप थपिदा एक अर्ब मात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४८ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ६१ अर्ब रुपैयाँ कर्जालगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ६.१० प्रतिशत रहेको छ भने सिडि रेसियो ८३.५५ बिन्दुमा झरेको छ ।
Advertisment