काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको करिब २१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । पुनर्बीमा कम्पनी र साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २० लाख ९१ हजार ४१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीहरुले विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएका हुन् ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ ।
कम्पनीको शेयर खरिद गर्न तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाले एक लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर खरिद गर्न विद्यमान शेयरधनीहरुका ३५ दिने सूचना जारी गरेको थियो ।
लघुवित्तको शेयर खरिदका लागि तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो .
जस अनुसार उक्त शेयर अरिद गर्न चाहने व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय गोरखा हरमटारीमा आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ ।
Advertisment