काठमाडौं : नेपाल स्टक एकसचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ। नेप्सेले मंगलबार एक सूचना जारी गर्दै समयमै नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । यसका साथै नेप्सेले नविकरण शुल्क समयमै नबुझाए सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ ।
सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको उल्लेख गरेको छ ।
नेप्सेका अनुसार वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले धितोपत्रको हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउन पर्नेछ भने ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले भने एक लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने सूचनामा उल्लेख छ ।
यस्तै, डिवेन्चर वा म्युचुअल फण्डको वार्षिक नवीकरण शुल्क ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुनेलाई २५ हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुनेको हकमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने भएको छ ।
यकसा साथै नेप्सेले तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र समयमा नविकरण नगरे धितोपत्र सूचीकरण विनियामावली, २०७५को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी समेत दिएको छ।
उक्त नविकरण शुल्क नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बैंक खाता रहेको ग्लोबल आईएमई बैंकमा जम्मा गर्नुपर्नेछ भने उल्लेखित खातमा रकम जम्मा गरेको भौचर पनि पठाउनुपर्ने नेप्सेले जनाएको छ ।
Advertisment