काठमाडौं : पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने नेपाल उद्योग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिका पौडेलले बताएका छन् ।
विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पाैडेलले नियामक निकाय र नीति निर्माण गर्ने तहले यो विषय बुझ्न नचाहेको बताए । `पुँजीगत लाभकरको विषयमा स्पष्ट व्यवस्था आवश्यक छ´, उनले भने, `लगानीकर्ता पुँजीगत लाभकरको विषयमा अल्मलिएका छन् । पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्छ भनेर माग गरिरहँदा आर्थिक ऐनमार्फत लगानीकर्तामा डरलाग्दो तरबार झुन्ड्याइएको छ ।’
ट्रेडर र इन्भेस्टर को हो भनेर आन्तरिक राजस्व विभागले नछुट्याएका कारण पनि लगानीकर्ता लगानी गर्न हिच्किचाएका बताए । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्षसमेत रहेका पौडेलले पुँजीबजार राजस्व संकलनको राम्रो आधार भएको समेत बताए । पुँजीबजार उच्च बिन्दुमा भएको बेला १४ अर्ब राजस्व राज्यले पाएको बताए ।
Advertisment